काठमाडौं, २०७२ श्रावन ६,
नेपालको पुनर्निर्माणमा सघाउने विषयमा छलफल गर्न चिनियाँ सहायक वाणिज्यमन्त्री चङ सियाङ्चेन मंगलबार काठमाडौं आएका छन्।
११ सदस्यीय टोलीको नेतृत्व गर्दै आएका चङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनीले स्वागत गरे।तीनदिने भ्रमणमा आएको चिनियाँ टोलीले अर्थसचिव सुमनप्रसाद शर्मा नेतृत्वको सरकारी टोलीसँग बिहीबार द्विपक्षीय वार्ता गर्ने भएको छ।
वार्तामा अन्तर्राष्ट्रिय दाता सम्मेलनमा घोषणा गरेअनुसार चीनले नेपालको पुनर्निर्माणका लागि तीन वर्षभित्र उपलब्ध गराउने ७६ अर्ब रुपैयाँ कुन—कुन क्षेत्रमा खर्च गर्ने भन्नेमा छलफल हुने सहसचिव मरासिनीले बताए।
मरासिनीका अनुसार चिनियाँ सहयोगअन्तर्गत पुनर्निर्माण परियोजना कार्यान्वयनसम्बन्धी केही समझदारी पत्रमा समेत हस्ताक्षर गर्ने गृहकार्य भइरहेको छ। दाता सम्मेलनमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पूर्वाधार विकास, भूकम्पपीडितको पुनर्वास, ऐतिहासिक सम्पदाको पुनर्निर्माण, प्राकृतिक प्रकोपबाट बच्न क्षमता विस्तार, प्रकोपसँग जुध्न आवश्यक तयारीलगायतमा नेपाललाई सघाउन आफूहरू इच्छुक रहेको बताएका थिए।
चिनियाँ टोलीले प्रधानमन्त्री सुशील कोइरालासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। टालीले बुधबार भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर क्षेत्रको भ्रमण गर्ने भएको छ। टोलीले चिनियाँ सहयोगमा बनेको बानेश्वरस्थित निजामती अस्पतालको समेत भ्रमण गर्नेछ।
स्रोत : अन्नपुर्ण पोस्ट