ताजा खबर

हुवावेको आम्दानी ६ महिनामा सवा २८ अर्ब डलर  

बेइजिङ, २०७२ श्रावन ५,

चीनका ठूला टेलिकम कम्पनीमध्ये एक हुवावेले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८ अर्ब ३० करोड अमेरिकी डलर (२८ खर्ब ३० अर्ब रुपैयाँ) आम्दानी गरेको छ। कम्पनीका अनुसार स्मार्टफोन बिक्री तथा अन्य व्यापार उच्च भएका कारण आम्दानी ह्वात्तै बढेर उक्त परिमाणबराबर पुगेको हो। यो परिमाणको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको दाँजोमा ३० प्रतिशतले बढी हो। हुवावेले खुद नाफा सार्वजनिक नगरे पनि सञ्चालन नाफा भने १८ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ।

हुवावे चीनमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने तेस्रो ठूलो कम्पनी हो। पहिलो नम्बरमा अमेरिकी कम्पनी एप्पल र दोस्रोमा चीनकै जियाओमी रहेको अनुसन्धान संस्था आइडिसीले जनाएको छ। त्यसैगरी हुवावे टेलिकम सम्बन्धी यन्त्र र पुर्जा निर्माण गर्ने संसारकै सबैभन्दा ठूला कम्पनीमध्ये एकमा पनि पर्दछ।

हुवावेले स्वीडेनको एरिक्सन कम्पनीसँग सञ्चार टावर र अन्य पूर्वाधार उत्पादनतर्फ विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ।

‘सन् २०१५ मा हाम्रा सबै क्षेत्रको व्यापारले प्रभावकारी, नियमित र स्वस्थ विकासलाई निरन्तरता दिन सफल भएका छन्,’ हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झउले भने।

यो वर्षको सुरुवातमा हुवावेले २०१५ मा २० प्रतिशतको विश्वव्यापी बिक्री लक्ष्य प्रक्षेपण गरेको थियो। अघिल्लो वर्ष पनि कम्पनीले २० प्रतिशतकै दरले आम्दानी वृद्धि गरेको तथ्यांक सार्वजनिक गरेको थियो।

चीन सरकारसँग ‘कथित’ घनिष्ठ सम्बन्ध भएका भन्दै हुवावे अमेरिकाको विशेष चासोमा परेको छ। त्यही कारण अमेरिका र अस्ट्रेलियामा ब्रोडब्यान्ड परियोजनामा काम गर्नबाट यसलाई निषेध गरिएको छ।

हुवावेले सन् २०१४ मा करिब १७ प्रतिशतले सञ्चालन नाफा गरेको थियो। फोर्थ जेनेरेसन (फोरजी) मोबाइल प्रविधि लिएर अगाडि आएपछि नाफा बढको थियो। स्मार्टफोन बजारमा अन्य ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि हुवावेले फिफ्थ जेनेरेसन (फाइभजी) प्रविधि ल्याउने तयारी तीव्र गतिले अगाडि बढाइरहेको छ।

गत वर्ष जासुसीको आशंका गर्दै अमेरिकी सरकारले आफ्ना कुनै पनि ठेक्कामा टेन्डर हाल्न निषेध गरेपछि हुवावेका प्रमुख कार्यकारी गुओ पिङले अमेरिकी बजारबिना कम्पनीको विश्वव्यापी लक्ष्य पूरा हुने बताएका थिए।

‘अमेरिकाको निषेध त्यत्ति महत्वपूर्ण होइन,’ त्यसबेला उनले भनेका थिए, ‘यदि उनीहरू तयार छैनन् भने हामी पर्खन सक्छौं।’ हुवावेको कुल आम्दानीको ६५ प्रतिशतभन्दा बढी चीनभन्दा बाहिरको व्यापारबाट प्राप्त हुने गरेको छ। यसले १ सय ५० भन्दा बढी देशमा व्यापार गरिरहेको छ।

२८ वर्षअघि रेन जेङफेइले स्थापना गरेको हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेडले मोबाइल फोन, फिक्स्ड ब्रोडब्यान्ड नेटवर्क्स, कन्सल्टेन्सी, स्मार्टफोन, ट्याब्लेट कम्प्युटर, डोंगल, मल्टिमिडिया टेक्नोलोजीलगायत उत्पादन गर्दै आएको छ।

यसले २०१४ मा ४६ अर्ब ५१ करोड ५० लाख डलर आम्दानी गरेको थियो। यसबाट ५ अर्ब ५२ करोड १० लाख डलर सञ्चालन नाफा गरी ४ अर्ब ४९ करोड ८० लाख डलर नाफा कमाएको थियो। यसको कुल सम्पत्ति ४९ अर्ब ९८ करोड डलरबराबर रहेको छ। यसका लगानीकर्ता आफ्नै कर्मचारी हुन्। हाल हुवावेमा १ लाख ५० हजार कर्मचारी कार्यरत छन्।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *