ताजा खबर

हिंसा र तनावबीच मस्‍यौदामा सुझाव   

प्रचण्ड र नेपालको बचाउमा हवाई फायर, जनकपुर कार्यक्रम स्थगन

काठमाडौं, २०७२ श्रावन ५,

संविधानको प्रारम्भिक मस्यौदामाथि रायसुझाव संकलनका क्रममा सोमबार दर्जनभन्दा बढी जिल्लामा भएको हिंसात्मक प्रतिरोधमा सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन्। पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, पुष्पकमल दाहाल र मस्यौदा समितिका अध्यक्ष कृष्ण सिटौलाामाथि आक्रोशित भीडले रौतहट, सिरहा र झापामा उग्र विरोध प्रदर्शन गरेपछि सुरक्षाकर्मीले आक्रामक बचाउ गर्नुपरेको थियो।

 करिब दुई घन्टा आक्रोशित भीडको बीचमा परेका नेपाललाई अश्रुग्यास र हवाई फायर अनि लाठी प्रयोग गरी प्रहरीले उद्धार गरेको थियो भने दाहाललाई प्रहरीले सुरक्षा छाता प्रदान गरी भीडबाट बचाएको थियो। सिटौला उपस्थित रहेको झापामा रायसुझाव दिन गएका आमजनतालाई प्रहरीले निर्धारित स्थलमा प्रवेश नदिएपछि झडप भएको थियो।

अधिकांश ठाउँमा हिन्दु राष्ट्रका पक्षमा रायसुझाव आएका थिए भने मधेस केन्द्रित दलहरूले तराईका जिल्लामा संघीयता र सीमांकनबिना संविधान जारी गर्न नदिने आफ्नो निर्णयअनुसार प्रतिरोध अभियान चलाएका थिए।

भारत भ्रमणबाट फर्केलगत्तै रायसुझाव संकलनमा सहभागी हुन सिरहा पुगेका एमाओवादी अध्यक्ष दाहालमाथि ढुंगा प्रहार भएपछि उनी कार्यक्रम छोट्याएर फर्केका थिए।भीडसँग प्रहरीको झडप हुँदा जनकपुरमा थुप्रै घाइते भएका छन्। उत्पन्न परिस्थितिपछि जनकपुरमा राय संकलन स्थगन भएको छ । भीड नियन्त्रण गर्न सप्तरीमा प्रहरीले अ श्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको थियो भने वीरगन्ज, भैरहवा, हेटौंडा, दाङ, पोखरा, नेपालगन्जलगायतका ठाउँमा पनि प्रहरीसँग झडप भएको थियो।

प्रहरीले कतिपय ठाउँमा भीड नियन्त्रण गर्न अ श्रुग्यास प्रहार गरेको थियो। धेरैजसो ठाउँमा प्रहरीको कडा सुरक्षा घेराभित्र रायसुझाव संकलन गरिएको छ। काठमाडौंमा केही ठाउँमा मस्यौदाका विपक्षमा प्रदर्शन भएका छन् भने केही ठाउँमा मस्यौदा च्यातिएको छ।  पर्याप्त प्रहरी परिचालन गरिएकाले काठमाडौं उपत्यका क्षेत्रमा अप्रिय घटना भने हुन पाएन। सुझाव दिने अधिकांशले धर्म निरपेक्षता शब्द हटाउन माग गरेका थिए।

पर्साका पनि अधिकांश कार्यक्रम बिथोलिएका छन् । धनुषाका सातै निर्वाचन क्षेत्रमा सोमबार सुझाव संकलन कार्य स्थगित गरिएको हो। निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत सदरमुकाम जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मधेस अधिकार संरक्षण समिति र सर्वसाधारणले मस्यौदामाथि छलफल गर्न निर्धारण गरिएको कार्यक्रमस्थल उद्योग वाणिज्य संघमा प्रवेश गर्न खोज्दा प्रहरीले रोक लगाएपछि विरोधमा प्रहरीसँग प्रदर्शनकारीको दिनभर झडप भएको थियो।

आक्रोशित आन्दोलनकारी प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रतिकारमा प्रहरीले लाठी चार्ज र अ श्रुग्यासका दर्जनौं गोला प्रहार गर्दा जनकपुरको भानुचोक, शिवचोक र जनकचोक तनावग्रस्त बनेको थियो।पर्सा क्षेत्र नम्बर ३ बाहेक अरू सबै चारवटा क्षेत्रमा मधेस केन्द्रित दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

झडपका कारण १, २, ४ र ५ नम्बर क्षेत्रको रायसुझाव संकलन स्थगित भएको छ। प्र्रदर्शनकारीहरूले प्रहार गरेको ढुंगाले लागेर डीएसपी यादवबहादुर घर्तीको अनुहारमा गम्भीर चोट लागेको एसपी दिवेश लोहनीले बताए। वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीले गरेको लाठी चार्जबाट संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र यादवसहित सातजना घाइते भएका छन्।

गौरमा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको जिप तोडफोड गरिएको छ। सोमबार बिहान गौर नगरपालिकाको सभाहलमा कार्यक्रम सुरु हुनुअघि नै मधेस केन्द्रित दलले अवरोध गर्न थालेपछि झडप भएको थियो।

संविधानको मस्यौदाको विरोध गरिरहेका मधेसी दलका नेताकार्यकर्ताले नेता नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुस्ताक आलम, एमालेका डा. वंशीधर मि श्र, रामकुमार भट्टराई, लालबाबु यादव, एमाओवादीका सत्यनारायण भगतले कार्यक्रमस्थलमै विरोध गरेपछि झडप भएको हो । नेता नेपाल तथा अन्य सभासद्हरूलाई लक्षित गरी कुर्सी प्रहार भएको छ।

नवलपरासीमा पनि विरोध, बहिष्कार र आलोचनाका बीच संविधानको मस्यौदामाथि सुझाव संकलन गरिएको छ। जिल्लाका ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रमा मधेस केन्द्रित दल र माओवादी वैद्य पक्षका कार्यकर्ताले सुझाव संकलन स्थलमा गरेर नाराबाजी गर्दै बहिष्कार गरेका थिए।

बारामा पनि तनाव भएको छ। मधेसवादी दलले सुझाव संकलन कार्यक्रमलाई अवरोध पुर्‍याउन खोजेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप भएको हो। कलैया र बरियारपुरमा सामान्य झडप भए पनि सिम्रौनगढको स्थिति नियन्त्रणमा लिन भने प्रहरीलाई हम्मेहम्मे पर्‍यो।

हेटौंडाको झडपमा राप्रपा नेपालका ११ कार्यकर्ता घाइते भएका छन्। दाङमा संविधान मस्यादा संकलनमा दुई क्षेत्रमा तनाव भएको छ। बाँकेको हिरमिनियामा मस्यौदामाथि नागरिकको रायसुझाव संकलन भइरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समानान्तर सभा आयोजना गरी मस्यौदा बहिष्कार गरेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी तथा फोरम लोकतान्त्रिकले ल्याएको संविधानको मस्यौदा नभई उनीहरूको घोषणापत्र मात्र भएको मोर्चाले बताएको छ। सुनसरीको धरानमा सभासद् कृष्णकुमार राईसहित संविधान सचिवालयका कर्मचारी लांघाली सामुदायिक वनको कार्यालयमा भएको सुझाव संकलनमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडप भएको थियो।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts