काठमाडौं, २०७२ श्रावन ५,
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालका १५ उत्तरी जिल्लामा बन्ने विकास परियोजना छनोटमा नेपालले ढिलासुस्ती गरेको भन्दै चीनले असन्तुष्टि जनाएको छ।नेपालको चारदिने भ्रमणमा आएको चीनको स्वशासित क्षेत्र तिब्बतका विदेश मामिला उपमहानिर्देशक लिउ किन नेतृत्वको प्रतिनिधिमण्डलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरूसँग शुक्रबार भएको भेटमा परियोजना छनोटमा भएको ढिलाइमा असन्तुष्टि व्यक्त गरेको हो।
‘सम्झौताअनुसार परियोजनाहरूको छनोटमा केही ढिलाइ हुन गएको छ। हामीले त्यो महसुस गरेका छौं। अब ती जिल्लाहरूसँग समन्वय गरी परियोजनाहरू छनोट तथा निर्माणलाई द्रुत गतिमा अघि बढाउनुपर्छ भन्ने चिनियाँ पक्षसँग कुराकानी भएको छ’, भेटमा सहभागी संघीय मामिला मन्त्रालयका उपसचिव प्रकाश दाहालले अन्नपूर्णसँग भने। उनले चिनियाँ सहयोग सीमा क्षेत्रका जिल्लामा कसरी परिचालन गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए।
स्रोत : अन्नपुर्ण पोस्ट