ताजा खबर

संसद् सुरु हुँदै मोदीलाई चुनौती  

एजेन्सी नयाँदिल्ली, २०७२  साउन ५,

मनसुनी संसद् सत्र सुरु हुनुभन्दा पहिले भारतीय कंग्रेसले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारमा सामेल मन्त्रीहरूको राजीनामा माग गरेको छ । कंग्रेसले विदेशमन्त्री सुषमा स्वराज, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहान र राजस्थानकी मुख्यमन्त्री वसुन्धरा राजेको राजीनामा माग गरेको हो । तर, भाजापले यो माग खारेज गरिदिएको छ । दिल्लीमा संसद् सत्रभन्दा पहिले बसेको सर्वदलीय बैठकपछि केन्द्रीय मन्त्री वैकैया नायडुले कंग्रेसका मागमाथि चर्चा गर्न मिल्ने कुनै आधार नभएको बताएका हुन् । ‘राजीनामाको त कुनै प्रश्न नै उठ्दैन,’ उनले भने, ‘संसद्मा अरूको हुकुम चल्दैन । हाम्रो सरकार पूर्ण बहुमतको सरकार हो ।’

यसअघि कंग्रेस प्रवक्ता अजय कुमारले भाजपाका मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग राख्दै भनेका थिए, ‘राजनीतिमा नैतिकताको अत्यन्त महत्त्व हुन्छ । यस सत्रमा कंग्रेसको माग व्यापमं घोटालाको छानबिन होस् भन्ने हुनेछ । यही विषयमा रहेर हामी मुद्दा उठाउनेछौँ । त्यस्तै, ललित मोदी मुद्दामा मुछिएका सुषमा स्वराज र वसुन्धरा राजेले पनि राजीनामा दिनुपर्छ । उनीहरूले ललितलाई अनैतिक सहयोग गरेका छन् ।’ सर्वदलीय बैठकमा भारतीय प्रधानमन्त्री मोदीले भूमि अधिग्रहण विधेयकमा कदम अगाडि बढाउने बताएका छन् ।

उनले भने, ‘संसद् लोकतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण छ । संसद्को उपयोग गर्नुपर्छ । हाम्रो सरकार सबै मुद्दामा छलफल गर्न तयार छ ।’ उता, कंग्रेसले संसद् सत्रभन्दा पहिले भ्रष्टाचारका मुद्दा र सरकारको विदेश नीतिलाई लिएर भाजपा सरकारको आलोचना चर्काएको छ । उसले मोदी सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएको छ । पाकिस्तानलगायत देशसँगको सरकारको नीति र सम्बन्धबारे पनि प्रश्न उठाएको छ । ‘मोदीले पहिले भ्रष्टाचारविरुद्ध चौकीदारी गर्ने बताएका थिए, तर अहिले भ्रष्टाचारको चौकीदारी गरिरहेका छन्,’ कंग्रेसको आरोप छ, ‘चीन, पाकिस्तानसँग पनि स्पष्ट नीति बनाएको छैन ।’

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *