ताजा खबर

वैदेशिक रोजगारीमा कामदार घट्ने, सेवासुविधा बढ्ने  

निःशुल्क टिकट र भिसाको प्रभाव

काठमाडौं, २०७२ श्रावन ५,

सरकारले वैदेशिक रोजगारीमा निःशुल्क भिसा र टिकट कार्यान्वयनमा ल्याएपछि संख्यात्मक रूपमा विदेसिनेको संख्या केही घट्न सक्ने भए पनि सेवासुविधा बढ्ने भएको छ। पर्याप्त सेवासुविधा दिन नसक्ने साना कम्पनीले अब कामदार मगाउन कम गर्नेछन्।

श्रम कानुन अनुसार सेवासुविधा दिन सक्ने ठूला तथा संस्थागत कम्पनीले नेपाली कामदारको माग अझ बढाउने श्रम विज्ञहरू बताउँछन्। टिकट र भिसा निःशुल्क दिन नसक्ने कम्पनीले कामदारलाई तलबसुविधा पनि राम्रो दिन सक्दैनन्।

विगतमा वैदेशिक रोजगारीमा देखिएका ठगीका घटना पनि साना, घाटामा गएका कम्पनी तथा अनौपचारिक क्षेत्रका कम्पनीमा अधिक आउने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। ठूला र संस्थागत कम्पनीले मात्र निःशुल्क टिकट र भिसामा कामदार लिने भएकाले आगामी दिनमा ठगीका घटनासमेत कमी आउने अनुमान छ।

विगतमा कामदार पठाउने र लिने दुवै देशका बिचौलियाका कारण महिनौं तलब नदिने, विदा नपाउने कम्पनीमा पनि चर्को शुल्क तिरेर नेपाली कामदार जाने गरेका थिए। बिचौलियाले नक्कली कागजपत्र तयार पारेर कामदार झिकाउने र सोही आधारमा संख्या गनेर कमिसन लिने गरेका थिए।

पर्याप्त सेवासुविधा दिन नसक्ने साना कम्पनीले अब कामदार मगाउन कम गर्नेछन्। श्रम कानुनअनुसार सेवासुविधा दिन सक्ने ठूला तथा संस्थागत कम्पनीले नेपाली कामदारको माग अझ बढाउनेछन्।

अब नेपालले टिकट र भिसा निःशुल्क दिन नसक्ने कम्पनीमा कामदार नपठाउने निर्णय गरेपछि दुवैतिरका यस्ता बिचौलिया छट्पटाएका छन्। अहिले म्यानपावर कम्पनीलाई आन्दोलित पार्नमा पनि यी बिचौलिया सबैभन्दा बढी सक्रिय देखिएका श्रम तथा रोजगार मन्त्रालयको ठहर छ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ टिकट र भिसा निःशुल्क दिन सक्ने कम्पनीमा मात्र कामदार पठाउने सरकारको निर्णयबाट आगामी दिन कामदार निकै लाभान्वित हुने बताउँछन्। ‘कामदारको तलबसुधिवा थप बढ्न सक्ने तथा ठूला कर्पोरेट हाउसले नेपाली कामदारलाई बढी प्राथमिकतामा पार्न सक्ने देखिन्छ,’

उनले भने, ‘टिकट र भिसा पनि निःशुल्क दिन नसक्ने कम्पनीले गएका कामदारलाई राम्रो तलबसुविधा दिन्छन् भनेर अपेक्षा गर्न सकिँदैन,’ उनले भने। आगामी दिनमा श्रमकानुन अनुसार सेवासुविधा पाइने तथा राम्रा कम्पनीले मात्र नेपाली कामदार मगाउने भएकाले कामदारको संख्यामा केही कमी आउन सक्ने डा. गुरुङले बताए।

सरकारले गत असार २१ देखि खाडी र मलेसियामा टिकट र भिसा निःशुल्क उपलब्ध गराउने कम्पनीमा मात्र आफ्ना कामदार पठाउने निर्णय गरेपछि रोजगारीमा जानेको संख्या घट्न थालिसकेको छ। म्यानपावरको आन्दोलनका कारण जानेक्रम ठप्पप्रायः भएको हो।

श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशबराज जोशी निःशुल्क टिकट र भिसाको व्यवस्था कडाइका साथ कार्यान्वयनमा आएपछि कामदारको सेवासुविधा वृद्धि हुने बताउँछन्।’टिकट र भिसासमेत उपलब्ध गराउन नसक्ने कम्पनीमा कामदार पठाएर कुनै फाइदा हुँदैन,’ उनले भने।

विगत १० वर्षको ट्रेन्ड हेर्दा एकाध वर्ष बाहेक वर्सेनि विदेसिने कामदारको संख्या बढ्दो क्रममा छ। आर्थिक वर्ष २०६२/६३ देखि आव २०७१/७२ सम्म १० वर्षको अवधिमा नेपालबाट कामको खोजीमा सरकारी अनुमति लिएर ३३ लाख ६२ हजार नौ सय ४५ जना वैदेशिक रोजगारीमा गइसकेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार जनआन्दोलन भएका वर्ष २०६२/६३ मा कुल एक लाख ६५ हजार दुई सय ५२ जना कामको खोजीमा विदेसिएमा त्यो संख्या बढेर आव २०७१/ ७२ मा पाँच लाख २७ हजार पुगेको छ।

भर्खरै सकिएको आर्थिक वर्ष २०७१/ ७२ को अन्तिम प्रतिवेदन आउन बाँंकी भए पनि प्रारम्भिक तथ्यांकअनुसार रोजगारीमा जानेको संख्या पाँच लाख १५ हजार हाराहारीमा पुग्ने अनुमान वैदेशिक रोजगार विभागको छ।

यो तथ्यांकले आन्तरिक बजारमा रोजगारीका अवसर कम भएको तथा दलालको विभिन्न प्रलोभनमा परेर वर्सेनि विदेसिनेक्रम बढ्दो छ। वार्षिक श्रम बजारमा चार लाख ५० हजार हाहारीमा नयाँ जनशक्तिको प्रवेश हुने भए पनि आन्तरिक बजारमा वार्षिक ५० हजारभन्दा पनि कमले मात्र काम पाउने गरेको विभिन्न अध्ययनले देखाएको छ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *