सुझाव संकलन स्थगित, वीरगन्ज बन्द
वीरगन्ज , २०७२ श्रावन ५,
पर्सामा मधेशी दलको विरोध र प्रदर्शनका कारण संविधानको मस्यौदाबारे नागरिकको रायसुझाव संकलन कार्य प्रभावित भएको छ । पर्साको क्षेत्र नम्बर ३ बाहेक अरु सबै चारवटा क्षेत्रमा मधेश केन्द्रित दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपका कारण १ , २ , ४ र ५ नम्बर क्षेत्रको रायसुझाव संकलन कार्यक्रम स्थगित भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज अधिकारीले ४ र ५ नम्बर क्षेत्रमामात्रै सुझाव संकलन कार्य अवरुद्ध भएको बताए ।
अरु सबै क्षेत्रमा सुझाव संकलन सम्पन्न भएको उनले बताए । क्षेत्र नम्बर ४ र ५ स्थिति तनावग्रस्त भएपछि रायसुझाव संकलनलाई स्थगित गरिएको उनले जानकारी दिए ।
सोमबार पाँच वटै निर्वाचन क्षेत्रमा नागरिकको रायसुझाव संकलन शुरु हुनु पहिले नै मधेशवादी दलका नेता कार्यकर्ताले कार्यक्रम स्थलमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
जिल्ला विकास समिति पर्साको परिसरमा क्षेत्र नम्बर २ को रायसुझाव संकलन गर्न आयोजित कार्यक्रममा शुरुमै मधेशी दलका कार्यकर्ताहरुले नाराबाजी गर्दै ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेपछि झडप भएको थियो ।
झडपमा पर्साका प्रहरी नायव उपरीक्षक यादवबहादुर घर्ती घाइते भएका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर प्रनाउ घर्तीको अनुहारमा गम्भीर चोट लागेको प्रहरी उपरिक्षक दिवेश लोहनीले बताए ।
घाइते घर्तीको नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । उनको अनुहारमा चार टाँका लगाइएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए ।
२९ जना प्रदर्शनकारी घाइते
वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको लाठी चार्जबाट संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादवसहित सातजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा केन्द्रिय सदस्य यादवसहित मोहन पटेल, राजेश पटेल, किशोरीलाल भुइहार, रामअशीष यादव, सरोज यादव, मोहन साह र विजयकुमार साह रहेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।
यस्तै ग्रामीणक्षेत्रमा भएका प्रदर्शनमा प्रहरीको लाठी चार्जबाट २९ जना घाइते भएको उनले जानकारी दिए । घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको अध्यक्ष यादवले जानकारी दिए ।
यसैबीच शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर दमन गरेको भन्दै मधेशी दलले सोमबार दिनभर वीरगन्ज बजार बन्द गराए ।
फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा रहेका कार्यकर्ताले वीरगन्जका चोकमा टायर बाल्दै मस्यौदा र प्रहरी दमनको विरोधमा नारबाजी गरेका थिए ।
उनीहरुको प्रदर्शनका कारण वीरगन्जको बजार, पसल र यातायात दिनभर बन्द रह्यो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको विरोधमा बजार बन्द गरिएको फोरम नेपाल पर्साका अध्यक्ष यादवले बताए ।
स्रोत : अन्नपुर्णपोस्ट