म्यानमार, २०७२ श्रावन ५,
म्यानमारका सेना प्रमुख जनरल मिन आंग ह्लाइंगले यस वर्षको अन्त्यमा हुने निर्वाचन आफूलाई स्वीकार्य हुने बताएका छन् । निर्वाचन निष्पक्षमा रूपमा विपक्षीले जिते आफूले जनताको मत ससम्मान स्वीकार गर्ने उनले दाबी गरेका छन् । उनले निर्वाचन जित्ने विपक्षी दलका नेतालाई नेताजीको सम्मान दिने पनि दृढता व्यक्त गरेका छन् । बिबिसीलाई दिएको विशेष अन्तर्वार्तामा जनरल मिनले भनेका छन्, ‘देशको राजनीतिमा सेना लामो समय रहन चाहेको छैन । जनताको चाहनालाई सेनाले पनि स्वागत गर्दछ ।’ उनले पछिल्लो समय बाध्यताले सेना सत्तामा रहिरहेको पनि बताएका छन् ।
आगामी निर्वाचनमा विपक्षी दलले जिते पनि सेनाको भूमिका पूर्णरूपमा नसकिने पनि उनले बताएका छन् । ‘सेनाको भूमिका त्यतिवेलासम्म महत्त्वपूर्ण रहन्छ, जतिवेलासम्म देशमा पूर्ण लोकतन्त्रको स्थापना हुन सक्दैन,’ उनले भने । उनले सेनाले देशलाई हित गरिरहेकाले यसलाई नकारात्मक रूपमा नलिन पनि अनुरोध गरेका छन् । आगामी नोभेम्बरमा हुने निर्वाचनमा नोबेल पुरस्कार विजेता आङ साङ सुकीको पार्टी नेसनल लिग फर डेमोक्र्यासीले राम्रै नतिजा ल्याउन सक्ने अनुमान छ । तर, म्यानमारको संविधानले सुकीलाई निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाएको छ । सुकीको पार्टीले सन् १९९० मा म्यानमारमा निर्वाचन जितेको थियो । तर, पार्टीले सरकार बनाएलगत्तै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । अहिले म्यानमारमा सेना समर्थित सरकारले काम गरिरहेको छ ।
स्रोत : नया पत्रिका