ताजा खबर

वाणिज्यद्वारा राइजिङ मार्ट बन्द  

काठमाडौ, २०७२ श्रावण ५,

उपभोक्ता ठगी गरेको ठहर गर्दै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले खुमलटारस्थित राइजिङ मार्ट बन्द गराएको छ । विभागको टोलीले गरेको अनुगमनमा म्याद नाघेका खाद्य वस्तु बिक्री वितरण गरेको र बिनाइजाजत व्यवसाय सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो । ‘धेरै मात्रामा म्याद नाघेका सामग्री छ्यापछ्प्याप्ती फेला पर्‍यो,’ अनुगमनका उपमहानिर्देशक कमलप्रसाद भट्टराईले भने, ‘७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएका छौं ।’ म्याद गुज्रिएका सामान धेरै भेटिएकाले मार्टका कर्मचारीलाई हटाउन निर्देशन दिइएको उनले बताए ।

विभागका अनुसार टेस्टी बिस्कुट, वटर केकर बिस्कुट, नाइस टाइम बिस्कुट, ज्याक जेक, स्नेकर चकलेट, साबुदाना, मसलाको धूलो, धनियाँको धूलो, खुसार्नीको धूलो, मिस्री, भुजादाना, हल्दीराम दालमोट, पिनट, चिल्ली पिनट, नट केनर, भुजिया, तिल, सुप, खाने सोडा, मरिच, मेथीलगायत सामानको म्याद सकिएको थियो । उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार उपभोग्य वस्तुको लेबलमा उत्पादकको नाम, अधिकतम मूल्य (एमआरपी), ठेगाना, उद्योग दर्ता नम्बर, खाद्य पदार्थ र औषधिजस्ता उपभोग्य वस्तुमा वस्तुको मिश्रण, त्यसको परिमाण र तौल, गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा त्यसको अवस्था अनिवार्य उल्लेख हुनपर्छ ।

उपभोग गरेबाट हुन सक्ने प्रभाव, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन मिति उपभोगको म्याद सकिने मिति उल्लेख गरिनुपर्छ । कानुनले पनि यी सबै विषय नखुलाई सामान बेच्नु गैरकानुनी भनेर प्रस्ट पारेको छ । यी कुराहरू उल्लेख नभए वितरण गरे/गराउनेलाई दुई वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

‘म्याद सकिएको सामान धेरै भएकाले त्यहाँका कर्मचारीलाई सरसफाइ गर्न निर्देशन दिएका छौं,’ भट्टराईले भने, ‘सफाइ गरेर विभागमा जानकारी नगराउन्जेल काउन्टर बन्द हुन्छ । मार्ट सञ्चालनमा आउँदैन ।’ यस्तै मार्टले सञ्चालन इजाजतपत्रबिना कारोबार गरेको भट्टराईले बताए । ‘व्यापारिक संस्था सोह्रखुट्टे भनेर दर्ता गरिएको छ । तर मार्ट खुलमटार ललितपुरमा सञ्चालन छ,’ उनले भने, ‘इजाजतपत्र लिन निर्देशन दिएका छौं ।’

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *