ताजा खबर

मस्यौदा पढ्न ‘मुस्किल’ 

विराटनगर, २०७२ श्रावण ५,

मोरङका ९ निर्वाचन क्षेत्रका १० स्थानमा सोमबार संविधानको मस्यौदामाथिको सुझाव संकलन शान्तिपूर्ण सम्पन्न भएको छ । मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले विराटनगरको मिल्स माविमा विरोधमा कार्यक्रम स्थलभित्र नाराबाजी गरेपछि उनीहरूलाई प्रहरीले बाहिर निकालेको थियो ।

मोरङको डायनिया गाविसमा सुझाव संकलनमा पुगेका सभासद हृषीकेश पोखरेल र सुजाता कोइरालाको टोलीसँग स्थानीय अर्मेन्द्रकुमार साहले नेपाली भाषामा मात्र मस्यौदा आएकाले पढ्न कठिन भएको भन्दै आपत्ति जनाए । उनले मैथिली भाषामा पनि आएको भए सजिलो हुने बताए । प्रस्तावनामा मधेस आन्दोलन छुटेकाले त्यसलाई समावेश गरिनुपर्ने उनको भनाइ थियो ।

नागरिकताका लागि आमा र बाबु होइन आमा वा बाबु भन्ने लेखिनुपर्ने, नेपालीमूल भन्ने शब्द राखिएको छ मूलको व्याख्या छैन त्यसैले नेपालीमात्र लेखिनुपर्ने बताए । उच्च शिक्षासम्म मातृभाषामा पढ्न पाउनुपर्ने व्यवस्था गरिनुपर्ने भन्दै नाम र सीमांकनबिनाको संविधान मान्य हुने बताए ।

कर्मचारीलाई भ्याइनभ्याई

संविधानलाई सुझाव लिन बोलाइएको इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा सुझावकर्तालाई समय मिलाइदिन कर्मचारीलाई भ्याइनभ्याई देखिन्थ्यो । कार्यक्रम सुरु भएदेखि नै सुझाव दिन चाहेका स्थानीय अबेरसम्म पर्खिरहेका थिए । क्षेत्र नं. ३ को सदरमुकाम, क्षेत्र नं. १ को सूर्योदय नगरपालिकास्थित फिक्कल र क्षेत्र मनं. २ को देउमाई नगरपालिकास्थित मंगलबारेमा संविधानसभाका सदस्यसहित उपस्थित रहेर सुझाव संकलन गरिएको थियो ।

क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित सभासद एमाले पूर्वअध्यक्ष झलनाथ खनाल र एनेकपा माओवादीका समानुपातिक उम्मेदवार सूर्यवाला राई फिक्कलमा सुझाव संकलनका लागि उपस्थित थिए । तीन सय धेरै उपस्थित रहेको सुझाव संकलन कार्यक्रममा बोल्दै एमाले नेता खनालले जनस्तरबाट आएका सुझावहरूलाई समावेश गरेर समयमा नै संविधान जारी गर्ने प्रतिबद्धता जनाएका थिए ।

“स्थानीय निकाय चुनाव सुधार”

झापामा संविधानको मस्यौदामा सुझाव दिनेमध्ये अधिकांशले स्थानीय निकाय निर्वाचनको प्रक्रिया सुधार गर्न सुझाव दिएका छन् । मस्यौदामा भएको व्यवस्थाअनुसार नगरपालिकाका सबै वडाबाट छानिने सदस्यमध्येले वडा अध्यक्ष छान्ने प्रावधानमा धेरैले विमति राखे । झापाको क्षेत्र नम्बर ६ र ७ का सहभागीले यो प्रक्रिया नसच्याए स्थानीय नेतालाई अन्याय हुने मत राखेका छन् ।

संविधानको यो व्यवस्थाअनुसार कुनै १२ वटा वडा भएको नगरपालिकाको कुनै वडा एक पार्टीले ५ वटा सदस्य जिते पनि नगरपालिकाका अन्य वडा त्यो पार्टी अल्पमतमा छ भने आफूले सबै सदस्य जितेका वडामा पनि अर्कै पार्टीको वडा अध्यक्ष मान्नुपर्ने स्थिति हुने दलका कार्यकर्ताहरू बताउँछन् ।

“हिमाल र पहाड समेट्नुपर्छ”

संखुवासभाको हटियाबाट दिन ४ दिन हिँडेर मस्यौदामा सुझाव दिन सदरमुकाम खाँदबारी आइपुगेका थुदोक भोटेले सुझाव जस्ताको तस्तै पुर्‍याउन माग गरे । ४ दिन हिँडेर भए पनि सदरमुकाम आइपुगेका भोटे सोमबार सदरमुकाममा भेटिँदा निकै उत्साहित थिए । उनले संकलन गरिएको सुझाव कार्यान्वयन गर्न सहभागी भएका ४ जना सभासदहरूलाई आग्रह गरे ।

गाउँ–गाउँबाट आए

धनकुटामा आयोजित कार्यक्रमका सहभागी अधिकांशले ६० वर्षपछि संविधानसभाबाट संविधान लेख्ने नेपाली जनताको चाहना बल्ल पूरा हुने भएपछि आफुहरू उत्साहित भएको बताए । मस्यौदामा सुझाव संकलन गर्ने कार्यको पहिलो दिन धनकुटाको क्षेत्र नं.२ मा सर्वसाधारणको उत्साहप्रद सहभागिता भयो । पाख्रिबास नगरपालिकास्थित कृषि अनुसन्धान केन्द्रको सभाहल सर्वसाधारणले खचाखच भरिएको थियो ।

हिन्दु राष्ट्र बनाऊ

सुनसरी क्षेत्र नम्बर ३ मा पर्ने दुहवीको रंगशालामा आयोजित सुझाव संकलन कार्यक्रममा अधिकांशले हिन्दुराष्ट्र हुनुपर्ने माग राखे । मुस्लिमहरूले पनि धार्मिक स्वतन्त्रता कायम राख्दै गैंडालाई राष्ट्रिय जनावर बनाइनुपर्ने माग राखे ।

पूर्ण संविधान आओस्

ताप्लेजुङमा पनि विभिन्न विषयमा दलका प्रतिनिधि र स्थानीयले सुझाव दिएका छन् । कांग्रेस सभापति केशवप्रसाद दाहालले टाउको र हातखुट्टा नभएको संविधान ल्याउन लागिएको भन्दै विमति जनाए । उनले यो पहिलो र अन्तिम मस्यौदा होस् भन्दै थपे, धेरै पछि जन्मन लागेको बच्चा मुटु र टाउको नभएकाले यसलाई सच्याउनुपर्छ ।’

एमालेका मात्रिकाप्रसाद भट्टराईले रूख काट्ने, कर्मचारी सरुवा गर्नेजस्ता अनावश्यक विषय राखेर सानो देशमा ठूलो संविधान बनाइएकोमा असन्तुष्टि जनाए । एमाओवादी अध्यक्ष परागले प्रस्तावनामा राजकीय सत्ता जनतामा केन्द्रित, राष्ट्रिय झण्डा परिवर्तन, नागरिकता वितरण गाउँबाट हुनुपर्ने, बाबुआमा नभएकालाई वंशजको आधारमा दिने नागरिकताको प्रावधान हटाउनुपर्ने जस्ता प्रस्ताव राखेका थिए ।

संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठले सम्झौताविपरीत प्रदेशको नामांकन र सीमांकन नगरी मस्यौदा ल्याइएको भनेर आपत्ति जनाइसकेपछि मस्यौदा च्यात्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

स्थानीय चुनावको मिति तोक

तेह्रथुममा सर्वसाधारणले स्थानीय निकायको पहिलो निर्वाचन मिति संविधानमै किटानी गर्न सुझाव दिएका छन् । उनीहरूले प्रधानमन्त्री र स्थानीय निकायको वडाध्यक्षको निर्वाचनमा प्रत्यक्ष प्रणाली अपनाउन सुझाए । सुझाव दिने क्रममा कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले वडाध्यक्षको प्रत्यक्ष निर्वाचनबाट आउने प्रणाली हटाए जनताले रुचाएका व्यक्ति पछि पर्ने बताए ।

स्रोत : कान्तिपुर

Related posts