ताजा खबर

बार्सिलोना पनि अमेरिकामा 

लस एन्जलस, २०७२  साउन ५,

युरोपियन च्याम्पियन बार्सिलोना पनि प्रि–सिजन तयारीका लागि अमेरिका आइपुगेको छ । स्पेनिस जायन्ट बार्सिलोना आइतबार अमेरिका आइपुगेको हो । बार्सिलोनाले अमेरिकामा तीन खेल खेल्नेछ । बार्सिलोनाले मंगलबार लस एन्जलस ग्यालेक्सीविरुद्ध रोज बउलमा पहिलो खेल खेल्नेछ । गत सिजन स्पेनिस ला लिगा, कोपा डेल रेसहित च्याम्पियन्स लिग उपाधि जितेको बार्सिलोनालाई स्वागत गर्न दर्जनौँ समर्थक विमानस्थल पुगेका थिए । विमानस्थलमै प्रशिक्षक इन्रिक र कप्तान एन्द्रेस इन्इस्टाले पत्रकारको जवाफ दिएका थिए । पत्रकारको जिज्ञासामा प्रशिक्षक इन्रिकले अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी, ब्राजिलियन युवा स्ट्राइकर नेमारजस्ता खेलाडीलाई आराम दिइएको बताए । बार्सिलोना टोली मेसी, नेमार, गोलरक्षक क्लाउडियो ब्राभो, मिडफिल्डर जेभियर मास्केरानो तथा फुलब्याक डानी अल्भेसविना अमेरिका भ्रमणमा निस्किएको हो ।

हालै सम्पन्न दक्षिण अमेरिकी देशहरूबीचको प्रतियोगिता कोपा अमेरिकामा सहभागी भएका यी खलाडीलाई केही समय आराम दिइएको प्रशिक्षक इन्रिकले बताए । ‘यी खेलाडीलाई केही समय बिदा दिन आवश्यक छ, उनीहरू लगातार खेल्दै आएका छन्,’ प्रशिक्षक इन्रिकले भने । बार्सिलोना मंगलबारको खेलपछि अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलका लागि उत्तर अमेरिका जानेछ । बार्सिलोनाले युनाइटेडविरुद्ध सान फ्रान्सिस्कोको मैदानमा भिड्नेछ । २८ जुलाईमा वासिङ्टनडिसीको सुबर्बनमा प्रिमियर लिग च्याम्पियन चेल्सीसँग प्रतिस्पर्धा गर्दै बार्सिलोनाले अमेरिका भ्रमण टुंग्याउनेछ ।

बार्सिलोनाले अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत नै २ अगस्टमा फियोरेन्टीनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । फरक प्रसंगमा प्रशिक्षक इन्रिकले अन्य देशको भ्रमणले टोलीको तयारीमा नकारात्मक असर पर्ने तर्क गरे । राम्रो देशको भ्रमण गर्नु अन्य दृष्टिले रमाइलो भए पनि त्यसले टोलीको तयारीमा आवश्यक समय नमिल्ने बताए । ‘देश राम्रो हुन सक्छ, राम्रो देशको भ्रमण गर्नु राम्रो पनि हुन्छ,’ उनले भने, ‘तर भ्रमणले प्रशिक्षणका लागि समय कम हुन्छ, त्यसले टोलीको प्रदर्शनमा नकारात्मक असर पार्छ ।’

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *