ताजा खबर

फिफा अध्यक्षमा प्लाटिनीको सम्भावना 

लन्डन, २०७२  साउन ५,

फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफाको अध्यक्षमा युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष मिचेल प्लाटिनीको सम्भावना बलियो देखिएको छ । बेलायती सञ्चारमाध्यमले दाबी गरेअनुसार प्लाटिनीलाई फिफाका अध्यक्ष बन्न युरोप, एसियालगायत देशका फुटबल अधिकारीले नै आग्रह गरेका छन् । युरोप, एसिया, दक्षिण अमेरिका, उत्तर र केन्द्रीय अमेरिकी फुटबल महासंघले प्लाटिनीलाई फिफाको नयाँ अध्यक्षका लागि समर्थन गरेको बिबिसीले दाबी गरेको छ । ६० वर्षीय प्लाटिनीले यसबारे आफ्नो निर्णय सार्वजनिक गरेका छैनन् । २९ मेमा स्विस सेप ब्लाटर पाँचौँपटक फिफा अध्यक्षमा निर्वाचित भएका थिए । तर, भ्रष्टाचार आरोपमा चौतर्फी दबाब परेपछि ब्लाटरले २ जुनमा पदबाट हट्ने निर्णय गरेका थिए ।

पद त्याग्ने घोषणा गरे पनि निर्वाचनमार्फत नयाँ अध्यक्ष नचुनिएसम्म उनी आफँैले दैनिक कार्यसम्पादन गर्दै आएका छन् । फिफाको कार्यकारी समितिले अध्यक्षको नयाँ निर्वाचनका लागि सोमबार मात्रै २६ फेब्रुअरीका लागि मिति तोकेको छ । प्राय: क्षेत्रीय फुटबल महासंघहरूले भने १६ डिसेम्बरमा नयाँ निर्वाचन गर्नुपर्ने माग गरे पनि फिफाको कार्यकारी समितिले निर्वाचन अर्काे वर्षलाई सारेको हो । गत चुनावमा ७९ वर्षीय ब्लाटरका प्रतिद्वन्द्वी जोर्डनका राजकुमार अली बिन बल हुसेनले पनि अध्यक्ष ब्लाटरलाई तत्कालै जिम्मेवारीबाट मुक्त गरिनुपर्ने बताएका छन् ।

उनले ब्लाटरलाई जिम्मेवारीबाट तत्कालै हट्न सुझाब दिएका छन् । ‘अध्यक्ष ब्लाटरको राजीनामा फिर्ता लिन सकिँदैन, उनले तत्कालै जिम्मेवारी पनि त्याग्नुपर्छ,’ अलीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । ब्लाटरले यसअघिकै घोषणाअनुसार फिफामा सुधार ल्याउन तथा फुटबलको विकासका लागि आफ्नो योजना प्रस्तुत गर्दै छन् । पद छाड्ने घोषणा गरिसकेको अवस्थामा ब्लाटरले योजना सार्वजनिक गर्नु औचित्यहीन भएको पनि अलीको तर्क छ । ‘अब आउने अध्यक्षका लागि योजना ल्याउनु ब्लाटरसँग कुनै अधिकार छैन,’ अलीले भने, ‘उनलाई जिम्मेवारीमुक्त गर्दै अन्तरिम नेतृत्व खडा गर्नुपर्छ, जसले निर्वाचन पनि गराउनेछ ।’ राजकुमार अलीले पुन: आफू अध्यक्षका लागि उठ्ने या नउठ्नेबारे केही स्पष्ट पारेनन् ।

स्रोत : नया पत्रिका

Related posts