कोलम्बो, २०१५ साउन ५,
पाकिस्तानले श्रीलंकाविरुद्धको पाँच म्याचको एकदिवसीय सिरिजमा २–१ को अग्रता बनाएको छ । आइतबार अबेर सम्पन्न तनावपूर्ण तेस्रो एकदिवसीयमा श्रीलंकालाई १३५ रनको भारी अन्तरले पराजित गर्दै पाकिस्तानले सिरिजमा अग्रता बनाएको हो । कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा चार विकेट गुमाउँदै ३१६ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको श्रीलंका ४१.१ ओभरमा १८१ रनमै अलआउट हुन पुगेपछि पाकिस्तानले तेस्रो एकदिवसीय आफ्नो पक्षमा पारेको हो । पाकिस्तानले पहिलो एकदिवसीय पनि ६ विकेटले जितेको थियो । दोस्रो एकदिवसीयमा श्रीलंकाले दुई विकेटको जित हात पारेको थियो । पाकिस्तानका लागि ब्याटिङतर्फ सफ्र्रज अहमेदले सर्वाधिक ७७ रनको योगदान दिए भने बलिङतर्फ यासिर साहले चार विकेट लिए ।
सफ्र्रजले ७४ बलमा सात चौका प्रहार गरेका थिए । सर्वाधिक १० ओभर बलिङ गरेका यासिरले एक मेडनसहित २९ रन खर्चेका थिए । ब्याटिङमा सफ्र्रजबाहेक ओपनर अझर अली (४९) र मोहम्मद हाफिज (५४) ले पनि अर्धशतक प्रहार गरे । अझर र हाफिज दुवैले आफ्नो इनिङमा चार–चार चौका प्रहार गरेका थिए । त्यसबाहेक सोएब मलिक ४२ रन तथा मोहम्मद रिजवान ३५ रनमा नटआउट रहँदा अर्का ओपनर अहमेद सेहजादले ४४ रन जोडे । श्रीलंकाका लागि भने लहिरु थिरिमानेले ५६ रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।
थिरिमानेले ६७ बलमा चार चौका प्रहार गरेका थिए । उनीबाहेक ओपनर कुशल परेरले २० रन, सचिथ पाथिरनाले १९ रन, दिनेश चन्डिमालले १८ रन तथा उपल थारांगाले १६ रन जोडेका थिए । यस्तै, तिलकरत्ने दिलसान १४ रन तथा थिसरा परेरा १२ रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान एन्जेलो मेथ्युज चार रन, मिलिन्दा सिरिवर्दना दुई रन तथा लासिथ मालिंगा ६ रनमै आउट भए । श्रीलंकालाई सस्तैमा समेट्न यासिरबाहेक इमाद वासिम र अन्वार अलीले समान दुई–दुई विकेट लिए । राहत अलीले एक विकेट लिए । श्रीलंकाका लागि भने लासिथ मालिंगा र सचिथ पाथिरनाले एक–एक विकेट लिए । बाँकी दुई विकेट रनआउट भएका थिए । समर्थकबीच केही बेर झडप हुँदा खेल झन्डै आधा घन्टा रोकिएको थियो ।
स्रोत : नया पत्रिका