२०७२ श्रावण ५,
पछिल्ला समय जबरजस्त ओपनिङ गर्दै र आफ्नै पछिल्लो कलेक्सन रेकर्ड तोड्दै आएका सलमान खानले यसपटक ‘बजरंगी भाइजान’ बाट भने रेकर्ड तोड्न सकेनन् । इदको अवसरमा रिलिज गरे पनि उनको फिल्मले पहिलो दिन सवा २७ करोड भारु मात्रै कलेक्सन गर्यो । तर दोस्रो दिन नै फिल्मले ३३ प्रतिशतले बढी कलेक्सन गरिदियो । यसमा इदको बिदा मुख्य कारक त हो नै, यसपटक सलमानको फिल्मले समेत राम्रो समीक्षा बटुल्न सफल देखियो । सलमान, करिना कपुर र नवाजुद्दिन सिद्दिकीका कारण मात्रै नभई फिल्मकी मुख्य पात्र हर्साली मल्होत्राले पनि दर्शक तानिरहेकी छन् ।
तीन दिनमा फिल्मले एक सय करोड भारु बढी कमाइ गरेर गतवर्ष इदमै रिलिज सलमानको फिल्म ‘किक’ लाई उछिनेको हो । जबकि ‘किक’ ले सुरुआती सप्ताहान्तमा ८४ करोड भारु मात्रै उठाएको थियो । सलमानको फिल्म समीक्षाको लायक हुँदैन भनी आलोचना गर्नेका लागि यति बेला ‘बजरंगी भाइजान’ ले पाकिस्तान र भारतबीचको भाइचारा वृद्धिको सन्देश दिने फिल्म बनाएर वाहवाही कमाइरहेका छन् । प्राय: दुई देशबीचको कथामा बन्ने फिल्मले पाकिस्तानको उछितो काढ्ने र पाकिस्तानमा बन्देजको सामना गर्नुपर्ने नियति ‘बजरंगी भाइजान’ ले तोडिदिएको छ । फिल्मले पाकिस्तानमा पनि अहिलेसम्मकै सर्वाधिक बढी हलमा रिलिजको नयाँ रेकर्ड तय गरिदियो । अघिल्लो साता नै ‘बाहुबली’ ले दुई दिनमै एक सय करोड भारु कमाएर जबरजस्त व्यापार गरिरहेका बेला लगत्तै आएको ‘बजरंगी भाइजान’ लाई असर गरे पनि भारतमा मात्रै ४५ सय स्क्रिनमा रिलिज भएको थियो ।
२८ वर्षे करिअरमा सलमानका झन्डै ७२ फिल्म रिलिज भए । ‘दबंग’ पछि आठवटै फिल्मले एक सय करोड बढी भारु आम्दानी गरेका छन् । दुई सय ३३ करोड भारु कलेक्सन गर्ने ‘किक’ उनको अहिलेसम्मकै रेकर्ड आम्दानी हो । ‘बजरंगी भाइजान’ ले पाएको दर्शक प्रतिक्रियाका कारण पनि यसको कमाइले ‘किक’ उछिन्ने फिल्म व्यापार विश्लेषकको अनुमान छ ।
स्रोत : कान्तिपुर