काठमाडौ, २०७२ श्रावण ५,
असार मसान्तसम्म मुलुकभर ४३ दशमलव १ प्रतिशत भूभागमा रोपाइँ भइसकेको कृषि मन्त्रालयले जनाएको छ । यो दर गत वर्षको दाँजोमा ५ प्रतिशतले बढी हो ।
मन्त्रालयका अनुसार मुलुकभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । त्यसमध्ये असार मसान्तसम्म ६ लाख ११ हजार ९ सय ४ हेक्टरमा रोपाइँ भइसकेको हो । कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा उपसचिव हेमराज रेग्मीका अनुसार यो वर्ष रोपाइँको दर सन्तोषजनक छ । सबैभन्दा धेरै रोपाइँ भएको क्षेत्रमा सुदूरपश्चिम हो । गत वर्ष १ लाख ७० हजार हेक्टरमा धान बर्खे धान खेती गरेको सुदूरपश्चिममा यसपालि असार मसान्तसम्म १ लाख ४५ हजार २ सय ३२ हेक्टरमा रोपाइँ भइसकेको छ । थोरै रोपाइँ हुनेमा मध्य क्षेत्र छ । यहाँ अहिलेसम्म २८ दशमलव ६ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यसैगरी सबैभन्दा धेरै रोपाइँ हुने जिल्लामा तेह्रथुम, डोल्पा, मुगु, हुम्ला, जुम्ला, प्यूठान, जाजरकोट, बझाङ, कैलाली, कञ्चनपुर छन् । थोरै रोपाइँ हुनेमा बाँके, महोत्तरी, सर्लाही, पर्सा, सप्तरी छन् । सबैभन्दा थोरै हुनेमा सप्तरी छ । यहाँ हालसम्म ६ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
सप्तरीको ३५ हजार हेक्टरमध्ये २१ सय हेक्टरमा मात्रै रोपाइँ भएको महाशाखाले जनाएको छ । मन्त्रालयका अनुसार मध्य तराईमा कम सक्रिय हुने मनसुनका कारण रोपाइँ हुने क्षेत्रफल घट्दो छ । अर्कोतर्फ कामदार अभावले पछिल्ला वर्ष रोपाइँ हुने क्षेत्रफल घट्दै खाद्य संकट भइरहेको छ । यो वर्ष आफ्नै उत्पादनले नपुग्ने जिल्ला ३२ पुगेका छन् । गत वर्ष ३० जिल्लामा मात्रै खाद्यान्न अपुग थियो । आफ्नै उत्पादनले नपुग्ने जिल्लामा काठमाडौं र चितवन पनि पर्छन् । त्यसैगरी हुम्ला, दोलखा, रसुवा, भक्तपुर, ललितपुर, कालिकोट, बाजुरा, सप्तरी, सिरहा, धादिङ, रौतहट, डोल्पा, धनकुटा, उदयपुर, सुनसरी, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, महोत्तरी, सर्लाही, मुस्ताङ, गोरखा, कास्की, मुगु, जुम्ला, प्यूठान, जाजरकोट, बझाङ, दार्चुला र अछाम हुन् ।
यस वर्षको मुख्य खाद्यान्न बालीहरू धान, गहुँ, मकै, कोदो, जौ र फापरको उत्पादन अघिल्लो वर्षको तुलनामा करिब २ लाख ९६ हजार टन अर्थात करिब ३ प्रतिशतले घटेको छ ।
०७०/७१ मा यी छ वटै बालीहरूको उत्पादन ९५ लाख ६२ हजार टन भएको थियो । तर यस वर्ष ०७१/७२ मा प्रमुख बालीहरूको कुल उत्पादन ९२ लाख ६६ हजार टन पुगेको छ ।
स्रोत : कान्तिपुर