वासिंटन, 2०७२, श्रावन ५,
क्युबामा अमेरिकी राजदूतावास र अमेरिकामा क्युबाली दूतावास सोमबारबाट औपचारिक रूपमा खुलेका छन् । यसलाई उक्त क्षेत्रको सम्बन्ध सुधारको संकेत भएको अमेरिकी विदेशमन्त्री जोन केरीले जनाएका छन् । दूतावास खुले पनि अमेरिकाले आफ्ना नागरिक र कम्पनीलाई क्युबा प्रवेशमा प्रतिबन्ध कायम राखेको छ । सोमबारै केरीले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेजसँग वासिंटनमा भेटेका छन् । दुवै पक्ष सम्बन्ध सुधारले दुवै देश र सम्पूर्ण क्षेत्रको विकासमा सहयोगी हुनेमा विश्वस्त रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यो ऐतिहासिक कदमसँगै दुवै पक्षले अन्य असमझदारी बिस्तारै हटाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘अझै पनि केही यस्ता मुद्दा छन्, जुन विषयमा हाम्रो छलफल भएको छैन,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्, ‘बिस्तारै अन्य समस्याको समाधानमा पनि हामी लाग्नेछौँ ।’ दुवै देशमा एक–अर्काका दूतावास सञ्चालनमा आए पनि अमेरिकी नागरिकलाई क्युबा जान लागेको प्रतिबन्ध कायमै छ । त्यस्तै, अमेरिकी कम्पनीले क्युबामा व्यवसाय गर्न पाउने छैनन् ।
यो प्रतिबन्धले क्युबाको आर्थिक अवस्थामा समस्या पारेको क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोले बताएका छन् । उनले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग यस विषयमा छलफल गरिसकेका छन् । ओबामाले प्रतिबन्ध छिट्टै हटाउने बताउँदै आएका छन् । यी दुई राष्ट्रपतिबीच गत डिसेम्बरमा दुई देशको सम्बन्ध सुधार गर्ने सहमति भएको थियो । सन् १९५९ देखि चिसिन थालेको यी दुई देशको सम्बन्ध सन् १९६१ देखि औपचारिक रूपमा अन्त्य भएको थियो ।
स्रोत : नया पत्रिका