ताजा खबर

कता हराइन् जयललिता ?  

२०७२ श्रावन ४,

२३ मेको शपथग्रहण कार्यक्रममा ३० मिनेट मात्र जयललिता सहभागी भइन्, उपनिर्वाचनमा उनले २ घन्टा मात्र समय दिएकी थिइन्, त्यसयता उनी सार्वजनिक रूपमा खासै देखिएकी छैनन् एजेन्सी नयाँदिल्ली, ४ साउन केही समययता भारतमा पनि अन्य देशमा जस्तो विभिन्न दलका नेताहरूको व्यक्तिगत विषयमा चर्चा चुलिएको छ । चर्चाको पछिल्लो पंक्तिमा छन्, तमिलनाडुकी मुख्यमन्त्री जयराम जयललिता । कतिसम्म भने उनीबारे गरिएका विभिन्न अड्कलबाजीकै कारण केही मिडियाविरुद्ध अदालतमा समेत मुद्दा परेको छ । जयललिताको स्वास्थ्यबारे विभिन्न अड्कल गरेपछि मिडियाविरुद्ध यस्ता मुद्दा परेका हुन् ।

केही दिनअघि फेरि तमिलनाडुकी मुख्यमन्त्रीमा निर्वाचित भए पनि सार्वजनिक रूपमा नदेखिएपछि जयललिताको स्वास्थ्यबारे अड्कलबाजी सुरु भएको हो । ‘६७ वर्षको उमेरमा राजनीतिक चिन्ता देखिनु सामान्य हो,’ उनकी पार्टी प्रवक्ताले यस विषयमा भनेकी छिन्, ‘यसमा मिडिया र अरूले चिन्ता लिनुपर्ने थिएन ।’ तर, आठ महिनायता घरबाट बाहिर ननिस्किएपछि जयललिताको स्वास्थ्यबारे अनेक हल्ला चलेका छन् । उनको जीवनी लेखेकी लेखिका भन्छिन्, ‘अदालतले उनलाई सफाइ दिएपछि पनि उनले पार्टी कार्यकर्तालाई पहिलेको जस्तो अभिभावदन गरेकी छैनन्, मुख्यमन्त्री बनेपछि पनि उनी सार्वजनिक कार्यक्रममा पुगेकी छैनन् । त्यसैले, उनको स्वास्थ्यबारे अड्कलबाजी गरिएका हुन् ।’ तर, यो अड्कलबाजी कुनै आधारविना सुरु भएको होइन । जयललिताले आफ्नै पार्टी एआइएडिएमकेको र्‍यालीमा सहभागिता नजनाउँदा पार्टीले नै स्पष्ट पारेको थियो – स्वास्थ्यमा समस्या देखिएकाले उनी कार्यक्रममा उपस्थित हुन सकिनन् ।

त्यसअघि उनले पुन: मुख्यमन्त्री भएपछि २३ मेको शपथग्रहण कार्यक्रममा ३० मिनेट मात्र बिताएकी थिइन्, उपनिर्वाचनको प्रचारमा पनि उनले दुई घन्टा मात्र समय दिएकी थिइन् । उनी हराउनु र स्वास्थ्यबारेको अनेक अड्कलबाजीबाट भने विपक्षीले लाभ उठाएको विश्लेषण छ । विपक्षीले उनको स्वास्थ्यस्थितिलाई लिएर आफ्नो प्रचार बढाइरहेका छन् । यसलाई एआइडिएमकेले गम्भीर षड्यन्त्रको संज्ञा दिएको छ । पार्टीका प्रवक्ता तथा सांसद् रबी बर्नार्डले भनेका छन्, ‘६७ वर्षकी नेताको स्वास्थ्य र लाइफ स्टाइलमा केही समस्या हुनु स्वाभाविक हो । ५–१० दिन आराम गरेपछि उनी फेरि सक्रिय हुनेछिन् ।’ स्वास्थ्यमा समस्या भएको स्विकारे पनि पछिल्ला दिन एआइडिएमकेका कार्यकर्ताले अर्को प्रश्न उठाएका छन्, ‘किन जयललिताले घरमै पनि पार्टी कार्यकर्तालाई भेटघाटको समय दिएकी छैनन् ? कता हराएकी छिन् उनी ?’ यस विषयमा मनोचिकित्सकहरूले जयललिताको मानसिक चिन्ता बढेको हुनसक्ने बताएका छन् ।

केही समयअघि अकुत सम्पत्ति कमाएको, पदको दुरुपयोग गरेको आरोपमा अदालतले दोषी ठहर गरेपछि उनको स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने अनुमान छ । तर, पछिल्लो सयम अदालतले सफाइ दिएपछि उनी फेरि मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन् ।

स्रोत : नया पत्रिका

Related posts