कृषि पेसामा युवा आकर्षण                                                     

विराटनगर, ४ साउन, २०७२ ,

परम्परागत कृषि पेसाबाट टाढिँदै गएका शिक्षित युवा बिस्तारै व्यावसायिक कृषि पेसामा आकर्षित हुने क्रम पछिल्लो समय बढ्दै गएको छ । राज्यले आधुनिक कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सुरु गरेपछि शिक्षित युवा कृषि पेसामा लाग्न थालेका हुन् । मोरङ टंकीसिनवारीका युवा कृषक पुण्यप्रसाद पाण्डेले श्रीमतीले इजरायलबाट पठाएको पैसा लगानी गरी एकीकृत कृषिकेन्द्र सञ्चालन गरेका छन् । ०७१ मा पुण्य एकीकृत कृषिकेन्द्र खोलेर कृषिमा १५ लाख रुपैयाँ लगानी गरेका उनले हाल मासिक ७० हजारसम्म आम्दानी गर्न थालिसकेका छन् । आउँदो वर्षदेखि आम्दानी मासिक लाख पुग्ने दाबी उनले गरे ।

पाण्डेले वैदेशिक रोजगारीमा गएकी श्रीमती निर्मला ढकाल (पाण्डे) ले पठाएको १५ लाख रुपैयाँ लगानी गरी तीन बिघा जग्गा १० वर्षका लागि ६० हजार रुपैयाँमा भाडामा लिएर व्यावसायिक कृषि खेती सुरु गरेका हुन् । ०७० देखि कृषि पेसा सुरु गरेका उनको व्यावसायिक कृषि केन्द्रमा कुरिलो, मेवा, खुर्सानी, कागती र मौसमी तरकारी खेती हुँदै आएको छ । उनले कृषि उत्पादनमा विषादी र रासायनिक प्रयोगबाट जोगाउन आफैँले भैँसी, गाई र कुखुरापालन पनि गरेका छन् । पाण्डेले सबै कृषि उत्पादनमा जैविक मल मात्र प्रयोग गर्ने गरेका छन् ।

उनले कागती, कुरिलो र अन्य मौसमी तरकारी बिरुवा पनि बिक्री गर्न थालेका छन् । कृषि पेसाबाट सन्तुष्ट पाण्डे आगामी वर्षदेखि मासिक १ लाख रुपैयाँ आम्दानी गर्न सफल हुने दाबी गर्छन् । कृषि पेसाबाट हौसिएका उनले चाँडै अर्को ठाउँमा पनि व्यावसायिक कृषि केन्द्र खोल्न तयारी अन्तिम चरणमा पुगेको बताए । खोटाङको डुमरा धारापानी मूल घर भएका पाण्डे पहिले सक्रिय राजनीतिक कार्यकर्ता थिए । अहिले पनि उनी कांग्रेस खोटाङका जिल्ला सदस्य हुन् । सशस्त्र द्वन्द्वका क्रममा तराई झरेका उनी केही वर्ष विभिन्न ठाउँमा बरालिए । श्रीमती वैदेशिक रोजगारीमा इजरायल पुगेर पैसा पठाएर कृषिमा लगानी गर्न सुझाएपछि पाण्डेले व्यावसायिक कृषि पेसा थालेका थिए ।

उनी फर्ममा उत्पादित कृषि उत्पादन मागअनुसार बारीबाटै टिपेर सीधै उपभोक्ताका घरघर पुर्‍याउने गर्छन् । उत्पादन बढदै गएकाले अब टंकीचोकमा पसल खोल्ने तयारी थालेको उनले बताए । ५१ दिने ग्रामीण कृषक कार्यकर्ता तालिम लिएपछि विषादी र रासायनिक मलको साटो जैविक मल मात्र प्रयोग गरी कृषि उत्पादन गर्दै आएको उनको भनाइ छ । पाण्डेले नेपाली कृषकलाई बजार प्रवद्र्धन समस्या रहेको अनुभव सुनाए । हाल तीनजनालाई प्रत्यक्ष रोजगारी दिँदै आएका उनले अप्रत्यक्ष रूपमा एक सयभन्दा बढी कृषि फर्ममा संलग्न रहँदै आएको बताए । पाण्डेलाई कृषि विकास कार्यालयले युवा स्वरोजगार कोषबाट सिँचाइ र सिडमनीका रूपमा सहयोग पनि पुर्‍याएको छ । कृषि विकास कार्यालय मोरङका अनुसार पाण्डेजस्तै शिक्षित युवाको व्यावसायिक कृषि पेसामा आर्कषण बढ्दो छ । हाल मोरङमा दर्ता भएका ४० वटा एकीकृत व्यावसायिक कृषि फर्म सञ्चालनमा छन् ।

कृषि फर्म बढीजसो शिक्षित युवायुवतीले सञ्चालन गरेका छन् भने त्यस्ता फर्मबाट उनीहरूले मासिक ५० हजारदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् । बागवानी विकास अधिकृत काशी चौधरीका अनुसार व्यावसायिक कृषि फर्म संख्या दक्षिणीभन्दा उत्तरी मोरङमा धेरै छ । शिक्षित युवाले मौसमी तरकारी खेती, कागती, पशु, मौरी, माछा, बंगुर, गाई र बाख्रापालनमा चासो दिन थालेका छन । जिल्लामा व्यावसायिक कृषि फर्म बढेसँगै मोरङ मौसमी तरकारीमा आत्मनिर्भर बन्दै गएको बागवानी विकास अधिकृत चौधरी बताउँछन् । उनले भने, ‘असार, साउन र भदौमा मात्र बढी भारतबाट तरकारी आउने गरे पनि मोरङ ७० प्रतिशत तरकारीमा आत्मनिर्भर भइसकेको छ ।

स्रोत : नया पत्रिका

Related posts