ताजा खबर

जुगेडीद्वारा उपाधि कब्जा    

भरतपुर,  २०७२ श्रावण ४,

चितवनको भरतपुरस्थित मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र परिसरमा सञ्चालित ‘चितवन च्याम्पियनसिप कप २०७२’ प्रतियोगिताको उपाधि जु फुटबल क्लब जुगेडीले कब्जा गरेको छ । आइतबार भएको फाइनलमा उसले वसन्तपुर युनाइटेड क्लब माडीलाई २–१ ले हरायो ।

माडीले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको सुरुवातमै माडीका कप्तान सागर श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । अग्रता लिएको माडीले पोजिसन कायम राख्न सकेन । माडीको कमजोरीको फाइदा उठाउँदै जुगेडीका लागि पहिलो हाफको अन्तिम समयमा मनबहादुर गुरुङले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमै सकियो ।

दोस्रो हाफमा दुवै टिम रणनीति परिवर्तन गरी प्रतिस्पर्धामा उत्रेका थिए । जुगेडीका राज लामाले खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई २–१ को जित दिलाए । उनले गरेको गोल नै निर्णायक सावित भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत माडीका शिव श्रेष्ठ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता माडीकै विदेशी खेलाडी डोडोज घोषित भए । उनले खेल अवधिभरमा ५ गोल गरे । उत्कृष्ट रक्षकमा वसन्तपुरका आनन्द श्रेष्ठ, उत्कृष्ट अग्रपंक्तिमा जुगेडीका प्रसाद गुरुङ र उत्कृष्ट गोलरक्षकमा जुगेडीकै आशिष टाडा घोषित भए ।

एभरेस्ट क्लबको आयोजनामा भएको प्रतियोगितामा १६ टिम सहभागी रहेको आयोजक क्लबका अध्यक्ष अशोक देवकोटाले बताए । विजेता टिमले ५० हजार १, उपविजेता टिमले ३० हजार १ रुपैयाँ र सिल्ड हात पारे ।

स्रोत : कान्तिपुर

Related posts