ताजा खबर

स्नातकपछि स्नातकोत्तर पढाई अन्‍योल  

त्रिविमा शक्षिक क्यालेन्डर बिग्रदाको असर

काठमाडौं: २०७२ श्रावन ४,

क्यालेन्डरअनुसार शैक्षिक गतिविधि सञ्चालन नभएपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको पढाइ सकेका विद्यार्थीले पाँच महिना बितिसक्दा पनि स्नातकोत्तर तहमा भर्ना हुन पाएका छैनन्।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह तेस्रो वर्षका सम्पूर्ण संकायको नतिजा गत माघमा सार्वजनिक गरेको थियो। तर उक्त परीक्षामा उत्तीर्ण सबै विद्यार्थीका लागि अझै पनि स्नातकोत्तर तहमा भर्नाको आवेदन आह्वान गरेको छैन।

स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक भएको पाँच महिना बितिसक्दा पनि स्नातकोत्तर तहमा पढ्न नपाएपछि विद्यार्थी महत्त्वपूर्ण समयमा बिनाअध्ययन घरमा बस्न बाध्य छन्। लामो समयदेखि शैक्षिक क्यालेन्डरअनुसार पढाइ तथा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक हुन नसकेका कारण गत वर्ष त्रिविले एकैपटक स्नातक तह तेस्रो वर्षमा दुई ब्याचका विद्यार्थीको पढाइ सञ्चालन गरेको थियो।

यसरी एकैपटक परीक्षा सञ्चानल गरिएका ती विद्यार्थी २०७० र २०७१ व्याचका हुन्। शैक्षिक क्यालेन्डर नियमित बनाउने प्रयासस्वरूप यसरी पढाइ सञ्चालन गरिएकै कारण विद्यार्थी अहिले खाली बस्नुपरेको हो।

एकैसाथ पढाइ भए पनि फरकफरक ब्याचका विद्यार्थीका लागि परीक्षा पनि फरकफरक मितिमा सञ्चालन गरिएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७० ब्याचका विद्यार्थीको परीक्षा २०७१ वैशाखमा सञ्चालन गरेर भदौमा नतिजा सार्वजनिक गरेको थियो। ती विद्यार्थीका लागि स्नातकोत्तर तहमा भर्ना गरेर २०७१ माघबाट पढाइ सञ्चालन गरिएको छ।

तर एकैपटक पढेको भए पनि २०७१ सालका ब्याचका विद्यार्थीको परीक्षा गत भदौमा सञ्चालन गरेर माघमा नतिजा सार्वजनिक गरिसकेको छ। स्नातक तहका दुई ब्याचका विद्यार्थी नतिजा सार्वजनिक गरेर स्नतकोत्तर तहमा पढाइका लागि तयार रहे पनि त्रिविको क्षमता एकपटकमा एक ब्याचका विद्यार्थी पढाउन सक्ने मात्र छ। अहिले स्नातकोत्तर तहमा २०७० सालको ब्याचका विद्यार्थी अध्ययन गरिरहेका छन्।

परीक्षा नियन्त्रक केशवप्रसाद बास्तोलाले भने, ‘नियमअनुसार २०७१ सालमा स्नातक तह उत्तीर्ण विद्यार्थीलाई पनि अहिले नै स्नातकोत्तर तहमा भर्ना लिएर पढाइ सञ्चालन गरिसक्नु पर्ने हो। तर कक्षाकोठा र पढाउने शिक्षक अभाव भएका कारण पढाउन सकिएको छैन। स्नातक उत्तीर्ण गरेर स्नातकोत्तर पढ्ने जोश र जाँगर अध्ययन गर्ने महत्त्वपूर्ण समयमा विद्यार्थी घरैमा बस्न बाध्य भएका छन्।’

एकैपटकमा स्नातक तेस्रो वर्षमा जस्तै स्नातकोत्तर तहमा पनि पढाउने योजना बनाइएको भए पनि भूकम्पका कारण कलेज भवन भत्किएका र शिक्षकसमेत अभाव भएका कारण सफल हुन नसकिएको बास्तोलाले बताए।

उनले भने,’विद्यार्थी खालि बस्नुपर्दा समस्या भएको हामीलाई पनि महसुस भएको छ। तर वर्षौंदेखिको समस्याको परिणाम अहिले विद्यार्थीले भोग्नुपरेको छ । यो ब्याचको समस्या समाधान भएपछि स्नातक र स्नातकोत्तर तहमा शैक्षिक क्यालेन्डर नियमित हुन्छ।’

त्रिविका कमजोरीका कारण निश्चित समयभित्रमा अध्ययन पूरा गरेर रोजगारीमा लाग्ने वा थप अध्ययनका लागि विदेश जाने योजनामा रहेका विद्यार्थी समस्यामा छन्। स्नातकोत्तर तहमा भर्ना खुलाउन माग गर्दै उनीहरूले त्रिवि प्रशासनसमक्ष थुप्रै पटक अनुरोध गरिसकेका छन्।

गुनासो सुन्ने कोही नभएपछि विद्यार्थी अझै पनि आफूहरूले स्नातकोत्तर तहमा कहिले भर्ना पाउने भन्नेमा अलमल्लमा छन्।भर्नाको आवेदन माग्ने मितिका विषयमा त्रिविका अधिकारीसमेत अनभिज्ञ छन्। त्रिविमा विशेष गरी २०६२-२०६३को दोस्रो जनआन्दोलनको समयमा पठनपाठन बन्द भएपछि शैक्षिक क्यालेन्डर अनियमित हुन थालेको हो।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts