काठमाडौं, ४ साउन, २०७२ ,
अर्घाखाँची जिल्लापरिषद्बाट विनियोजित बजेटमा अनियमितता भएको सरोकारवालाले बताएका छन् । योजनाको काम प्रभावकारी हुन नसक्दा बजेट दुरुपयोग भएको उनीहरूको भनाइ छ । जिल्लापरिषद्बाट विनियोजित बजेट सही ठाउँमा सदुपयोग भए–नभएको रिपोर्टर्स क्लबले सम्बन्धित कार्यालय, राजनीतिक दल, सरोकारवाला र सर्वसाधारणसँग गरेको छलफलमा उनीहरूले पूर्ण रूपमा बजेट सदुपयोग हुन नसकेको जानकारी दिएका हुन् ।
नेपाल बार एसोसिएसनका जिल्ला उपाध्यक्ष जगन्नाथ भुसालले विकास निर्माणका धेरै योजनामा अनियमितता भएकाले तत्काल रोक्न माग गरे । सदरमुकामकै सरकारी कार्यालय निर्माणमा समेत गुणस्तरमा ध्यान नदिँदा पानी पर्दा चुहिने गरेको उनले बताए । जिल्लाको सिमलपानीस्थित चुरे क्षेत्रबाट ढुंगा, गिटी उत्खनन भइरहे पनि रोक्न कसैको ध्यान नगएको उनको भनाइ छ । अधिवक्ता वासुदेव आचार्यले जिविस कार्यालयमा विगतका एलडिओ र त्यहाँका कर्मचारीले गरेका कामको बेरुजु प्रशस्तै रहेको बताए । पाणिनि क्याम्पसका प्राध्यापक द्रोणप्रसाद भुसालले नयाँ आर्थिक वर्षबाट कार्यान्वयन गर्ने संयन्त्र गठन गरी विकासका कामलाई प्रभावकारी बनाउन र भइरहेको अनियमितता रोक्नुपर्नेमा जोड दिए ।
प्रेस युनियन जिल्ला सभापति सूर्यप्रसाद भुसालले विकास योजनामा डुब्लिकेसन भएको बताए । स्थानीय शान्ति समिति संयोजक ठाकुरकुमार विकले योजनामा विनियोजित बजेट पारदर्शी भए मात्र विकासले सही गति लिने हुँदा अनियमिततामा संलग्नमाथि कारबाही माग गरे । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेट कहाँ कसरी प्रयोग भइरहेको छ, त्यसबारे सर्वसाधारण अनभिज्ञ रहेको दाबी गरे ।
कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले विकास निर्माणका काममा अनियमितता भएको स्विकार्दै सुधारका लागि प्रयास थालिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विकास निर्माणमा ढिलासुस्ती र अनियमितता भएको सूचना दिए तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
स्रोत : नया पत्रिका