नयाँ पत्रिका काठमाडौं, ४ साउन
अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाउन थालेका छन् । नयाँ आर्थिक वर्ष ०७२/७३ को सुरुवातसँगै बैंकले धमाधाम निक्षेपको ब्याज घटाउन थालेका हुन् । १ साउनदेखि नै लागू हुने गरी माछापुच्छ्ेर बैंक, लुम्बिनी बैंक, एनआइसी एसिया बैंक, सेञ्चुरी बैंकलगायत केही विकास बैंकले निक्षेपमा ब्याजदर घटाइसकेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाले पनि ब्याज घटाउने तयारी गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले नयाँ त्रैमासको पहिलो साताभित्र ब्याजदर सार्वजनिक गरिसक्नुपर्छ । सोही निर्देशनअनुसार अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर सार्वजनिक गर्न सुरु गरेका छन् ।
अब सार्वजनिक हुने सबै बैंकको ब्याजदर सामान्य परिमार्जनपछि (घटेर) मात्र आउने एक बैंकरले बताए । उनका अनुसार यो अवस्था आउँदो पुससम्म रहनेछ । वित्तीय प्रणालीमा अधिक तरलता रहेको र त्यसको तुलनामा कर्जा माग नआएकाले ब्याजदर घट्न थालेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले बताए । अहिले बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) सामान्य अवस्थामा छ । विगतमा महँगो दरमा लिएको निक्षेपको लागत व्यवस्थापनलाई अहिले बैंकहरूले ब्याजदर घटाउन थालेको उनले बताए ।
‘कर्जा माग नबढेसम्म ब्याजदर घट्दो अवस्थामा रहन्छ,’ उनले भने । यस्तै, विकास बैंकले पनि निक्षेपको ब्याजदर घटाउने सुरसार गरेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बताए । वित्तीय प्रणालीमा अधिक तरलता रहेको, सरकारी खर्चबापतको रकम वित्तीय प्रणालीमा भित्रन लागेको, कर्जा माग कम भएकोलगायत कारण बैंकले निक्षेपको ब्याज घटाउन थालेको उनको तर्क छ । १२ वैशाखको भूकम्पपछि वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम तीव्र छ । तर, त्यसको तुलनामा कर्जा माग बढेको छैन । भूकम्पपछि वाणिज्य बैंकमा मात्र ९९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर, १० अर्ब मात्र कर्जा विस्तार भएको छ । करिब ३/४ महिनाअघि बैंकमा पर्याप्त तरलता रहे पनि लगानीयोग्य रकम कम थियो । तत्कालीन समयमा बैंकको सिडी रेसियो औसतमा ७९ प्रतिशत पुगेको थियो । यसले थप लगानी विस्तारको निक्षेप बढाउनुपर्ने दबाब बैंकहरूलाई परेको छ । सोही कारण बैंकले महँगो दरमा पनि निक्षेप संकलन सुरु गरे । तर, अहिले समय बदलिएको छ । बैंकहरूको सिडी रेसियो औसतमा ७४ देखि ७५ प्रतिशत छ । यसलाई सामान्य अवस्था मानिन्छ ।
गत आवको अन्त्यमा सरकारी खर्च ठूलो मात्रामा भएको छ । रेमिट्यान्य उच्च दरले बढेको छ । परिणाम वित्तीय प्रणालीमा करिब १ खर्ब १५ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । यसैले बैंकहरूले विगतको लागत व्यवस्थापन गरी मुनाफा वृद्धिका लागि लागत घटाउने रणनीति अपनाएका हुन् । त्यसैले अहिले बैंकहरूले कर्जाको ब्याजदर घटाउने सम्भावना छैन । किनकि बढेको ब्याजदरमा पनि उनीहरूको निर्देशित स्प्रेड (कर्जा निक्षेपको ब्याज अन्तर) कायम हुने अवस्था छ । विद्यमान लागतअनुसार नै कर्जा प्रवाह गरी मुनाफा बढाउने दाउमा बैंकहरू रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘निक्षेपको ब्याज घटाउँदा बैंकमा निक्षेप आउनेक्रम घट्छ,’ उनले भने, ‘कर्जाको ब्याज नघटाउँदा विगतमा निक्षेपको महँगो दर पनि समायोजन गर्न सकिन्छ ।’ हाल सरकारी ट्रेजरी विल्सको बट्टादर करिब शून्य नजिक छ । गत साता मात्र एकवर्षे ट्रेजरी विल्समा ०.६१ प्रतिशत र ९१ दिनेमा ०.०००४ प्रतिशत भारित औसत बट्टादर कायम भएको छ । अन्तरबैंक दरमा पनि त्यस्तै स्थिति देखिएको छ । बैंकहरूले पहिलो चरणमा ‘कल एकाउन्ट’मार्फत ब्याज घटाउन सुरु गरेका हुन् । अहिले बैंकले कल एकाउन्टमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर घटाएका छन् । हाल वाणिज्य बैंकहरूको निक्षेप दर औसत ३.७५ प्रतिशत र कर्जा दर औसत ९.४७ प्रतिशत रहेको स्रोतले जनायो । गत साता वाणिज्य बैंकहरूको कुल निक्षेप १४ खर्ब ३० अर्ब रुपैयाँ र कर्जा तथा सापटी १० खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंकका कर्जा दर औसत ११ देखि १२ प्रतिशत र निक्षेप दर बचतमा औसत ५ देखि ६ प्रतिशत र मुद्दतीमा औसत ७ देखि ८ प्रतिशत रहेको छ ।
स्रोत : नया पत्रिका