वासिङ्टन, २०७२ श्रावन ४,
इराक, सिरिया तथा अन्य देशमा सशस्त्र संघर्ष गरिरहेको चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस)लाई ध्वस्त पार्न बेलायत हरदम तयार रहेको बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बताएका छन् । अमेरिकी टिभी नेटवर्क एनबिसीलाई अन्तर्वार्ता दिँदै क्यामरुनले विश्वबाट चरमपन्थ अन्त्य गर्न आफूहरू सधैँ तयार रहेको र त्यसका लागि अमेरिकालाई आवश्यक सहयोग गर्ने बताएका हुन् । यो सहयोगका लागि बेलायती सांसदहरूसँग अपिल गर्ने पनि उनले द ‘हामी सधैँ चरमपन्थ अन्त्य गर्न अमेरिकालाई सघाउन तयार छौँ,’ उनले भने, ‘यसका लागि म व्यक्तिगत रूपमा पनि प्रयास गर्नेछु ।’ दुई वर्षअघि इस्लामिक स्टेटविरुद्धको आक्रमणमा बेलायतले अमेरिकी नेतृत्वलाई साथ दिने–नदिने विषयमा भएको मतदानमा अधिकांश सांसद्ले आक्रमणमा बेलायतले भाग नलिने पक्षमा मत दिएका थिए । त्यतिवेला सांसद्हरूले बेलायत युद्धमा गएर होइन, वार्तामा गएर यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । तर, केही समयअघि भएको निर्वाचनमा डेभिड क्यामरुनको दलले स्पष्ट बहुमत ल्याएपछि आइएसविरुद्ध हमलामा जान बेलायतलाई सहज हुनसक्ने विश्लेषण छ ।
क्यामरुनले बेलायती युवायुवतीका नाममा आइएसविरुद्ध सोमबार सम्बोधन गर्दै छन् । आइएसमा समावेश हुने बेलायती युवकको संख्या बढ्न थालेपछि उनको यो सम्बोधन आउने भएको हो । बेलायतले भविष्यमा गर्न सक्ने आक्रमणबारे जानकारी दिँदै क्यामरुनले भनेका छन्, ‘हामी अमेरिकासँग सहकार्य गर्न प्रतिबद्ध छौँ । अहिले हामी विभिन्न रणनीति बनाइरहेका छौँ, नयाँ रणनीतिले आइएस पराजयमा सहयोग गर्नेमा विश्वस्त पनि छौँ ।’ उता, साउदी अरबमा आइएसका चार सय ३१ संदिग्ध सदस्य गिरफ्तारीमा परेका छन् । साउदीमा पनि आइएसले आक्रमण गर्ने योजना बनाइरहेको साउदी प्रहरीले जनाएको छ । यही आशंकामा ती सदस्य पक्राउ परेका हुन् । साउदी अरबले पनि अमेरिकी नेतृत्वको हवाई हमलालाई साथ दिएको छ । गत साता साउदी अरबको पूर्वी भागमा सिया मस्जिदमा भएको बम हमलामा २५ जनाको मृत्यु भएको थियो ।
स्रोत : नया पत्रिका