ताजा खबर

अर्बमा निर्माण, १० हजारमा लिलाम 

स्पेन, २०७२ श्रावन ४,

युरोपेली राष्ट्र स्पेनमा १ अर्ब १० करोड युरो लगानीमा निर्माण भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थल लिलामी गर्दा जम्मा १० हजार युरोमा बिक्री भएको छ। स्पेनको मध्यभागमा सन् २००८ बाट सञ्चालनमा आएको ‘सिउडाड रियल सेन्ट्रल एयरपोर्ट’ चार वर्षपछि २०१२ मा टाट पल्टिएको थियो। त्यहाँ उडान गरिरहेका वायुसेवा कम्पनीहरूले यात्रु अभाव देखाउँदै धमाधम उडान बन्द गरेपछि विमानस्थल टाट पल्टिएको थियो।

चार वर्षदेखि बन्द रहेको उक्त विमानस्थल लिलामी गर्दा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको एक समूहले १० हजार युरोमा लिलामी सकारेका हुन्। यो रकम भनेको उक्त विमानस्थल निर्माण गर्दा लागेको कुल रकमभन्दा १ लाख गुणा कम हो। लिलामी प्रक्रियामा यही एउटा समूहमात्र सहभागी थियो।

त्यति सस्तोमा विमानस्थल हात पार्ने समूह चिनियाँ व्यवसायीहरूको हो। जनिन इन्टरनेसनल नामको व्यावसायिक समूहले विमानस्थललाई अब चिनियाँ कम्पनीहरूका लागि युरोप प्रवेश गर्ने मुख्य प्रवेश विन्दु बनाउने घोषणा गरेको छ।

यो लिलामीपछि पनि जनिनले पुनः अन्य कम्पनीलाई विमाननस्थल बिक्री गर्छ वा गर्दैन भन्ने अझै यकिन भएको छैन। विमानस्थल निर्माण सम्पन्न हुँदा स्पेनको अर्थतन्त्र तीव्र गतिले अगाडि बढिरहेको थियो।

यो विमानस्थल म्याड्रिडको मध्यभागबाट २ सय ३५ किलोमिटर दक्षिणमा रहेको छ। निर्माण सुरु गर्दा यसलाई म्याड्रिडस्थित बराजास विमानस्थलको विकल्पका रूपमा हेरिएको थियो। स्पेनको सिआर एइरोपुएर्टोस नामक निजी कम्पनीले निर्माण गरेको यो विमानस्थलले सोचेअनुसार व्यापार गर्न नसकेपछि चार वर्षमा टाट पल्टिएको थियो।

उक्त कम्पनीले भने विमानस्थलको न्यूनतम मूल्य २ करोड ८० लाख युरो तोकेको थियो। आगामी सेप्टेम्बरभित्र अर्को नयाँ खरिदकर्ता न्यूनतम मूल्यसहित आउने सम्भावना रहेको जनाइएको छ। यो विमानस्थलको यात्रु क्षमता वार्षिक १ करोड थियो। स्पेनमा रहेका ‘भूत विमानस्थल’ मध्ये एक सिउडाड सञ्चालनमा आए पनि पर्याप्त यात्रु आकर्षित गर्न सकेको थिएन।

सन् २०१३ डिसेम्बर ९ मा यो विमानस्थल लिलामीमा राखिएको थियो। त्यसबेला यसको न्यूनतम मूल्य १० करोड युरो तोकिएको थियो। यो मूल्यमा कसैले चासो नदिएपछि बिक्री अवधि बढाइएको थियो। त्यसपछि २०१४ जुलाई २७ मा सिउडाड रियलको वाणिज्य अदालतले नयाँ खरिदकर्ता खोज्न न्यूनतम ८ करोड युरो तोकिदिएको थियो।

सिउडाड विमानस्थलमा एउटामात्र धावनमार्ग छ। धावनमार्गको लम्बाइ ४ हजार १ सय मिटर (१३ हजार ४ सय ५० फिट) छ भने चौडाइ ६० मिटर (२ सय फिट) रहेको छ। युरोपमा जति पनि लामो धावनमार्ग भएका विमानस्थल छन्, तीमध्ये सिउडाड पनि एक हो। योसँग संसारकै सबैभन्दा ठूलो यात्रुबाहक जहाज एयरबसको ‘ए३८०’ सिरिजको जहाजदेखि सम्पूर्ण व्यावसायिक जेट जहाज उडान–अवतरण गराउनसक्ने क्षमता छ।

यो विमानस्थलको केही भाग निजी तथा हवाई खेलकुद सुविधाका लागि उपयोग गरिएको थियो। यसमा जहाज मर्मत क्षेत्र, हेलिकोप्टरका लागि छुट्टै पार्किङ तथा आठ किलोमिटर क्षेत्रफल ओगट्ने एउटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना पनि थियो।

विमानस्थलको यात्रु टर्मिनलले वार्षिक १ करोड यात्रु व्यवस्थापन गर्ने क्षमता छ। यसले वार्षिक अधिकतम ४७ हजार टन कार्गो व्यवस्थापन गर्नसक्छ। त्यस्तै यसमा यात्रु सुविधाका लागि ३ सय मिटर लामो पुल पनि निर्माण गरिएको थियो जसलाई टर्मिनलबाट नजिकैको म्याड्रिड–सेभिल्ले हाइस्पिड रेल लाइनमा जोड्ने योजना थियो। तर, हालसम्म उक्त रेल लाइन भने निर्माण भएको छैन।

यो विमानस्थलमा र्यािन एयरले पहिलो पटक २०१० जुनमा अन्तर्राष्ट्रिय उडान गरेको थियो। र्यारनले लन्डन स्ट्यान्स्टेडबाट सातामा तीन उडान गरेको थियो। यसले ६ महिना उडान गर्दा २२ हजार यात्रु बोकेको थियो।

यो विमानस्थलले २०१० जुनबाट अन्तर्राष्ट्रिय सेवा सुरु गरेको थियो। तर चार महिना नबित्तै सबै अन्तर्राष्ट्रिय रुट रद्द गरिए र विमानस्थलले ३० करोड युरोभन्दा बढी ऋण रहेको भन्दै आफू आर्थिक रूपमा टाट पल्टिएको घोषणा गरेको थियो।

त्यसैगरी स्पेनकै पूर्वी भागमा रहेको यस्तै खाले ‘क्यास्टेल्लन’ विमानस्थल पनि २०११ मा सञ्चालनमा आएको थियो तर, एउटा पनि उडान नभई बन्द भएको थियो।

स्रोत : नागरिक

Related posts