ताजा खबर

अब इरानमा पनि म्याक डोनाल्ड्स 

तेहरान, २०७२ श्रावन ४,

केही दिनअघि भएको इरान तथा ६ शक्तिराष्ट्रबीचको परमाणु कार्यक्रमसम्बन्धी सम्झौताले इरानमा आर्थिक विकास द्रूत गतिमा हुने विश्लेषण छ । सम्झौतामा सबै देशले सहमति जनाए इरानमा पनि अन्तर्राष्ट्रिय चेन रेस्टुराँ खुल्नेछन् । यसको सुरुवात अमेरिकी कम्पनी म्याकडोनाल्ड्सले गर्नेछ । परमाणु सम्झौता कार्यान्वयन भएमा विदेशको लगानी इरान र इरानको लगानी विश्वका विभिन्न देशमा हुनेछ । यसको अग्रपंक्तिमा अमेरिकी कम्पनी तेहरानमा जाने विश्लेषण छ ।

इरानमा सामाजिक सन्जालमा यस विषयमा व्यापक चर्चा सुरु भएको छ । अधिकांश इरानी सामाजिक सन्जाल प्रयोगकर्ताले सबैभन्दा पहिले म्याकडोनाल्ड्स तेहरानमा चाहेको टिप्पणी गरेका छन् । इरानबाट सामाजिक सन्जालमा म्याक डोनाल्ड्सको अनुरोध अत्यधिक देखिएपछि कम्पनीले पनि यसबारे आफ्नो धारणा बाहिर ल्याएको छ । म्याकडोनाल्ड्सले आफ्नो वेबसाइटमा लेखेको छ, ‘अब हामी छिटै इरानमा पनि हुनेछौँ ।’ तर, इरानमा म्याकडोनाल्ड्स खुल्ने मिति निश्चित भइसकेको छैन । यसअघि पनि अमेरिकासँग सम्बन्ध सुधार भएपछि म्याकडोनाल्ड्स विभिन्न देशमा खुलेको इतिहास छ । रुसमा १९९० को जनवरीमा, चीनमा अक्टोबर १९९० मा, भियतनाममा २०१४ को फ्रेबुअरीमा म्याकडोनाल्ड्स पहिलोपटक खुलेको थियो । अहिलेसम्म इरानमा यस्ता चेन रेस्टुराँ छैनन् । तर, यी रेस्टुराँको नक्कल गरिएका रेस्टुराँ छन् ।

सन् २०१२ मा इरानमा केएफसी खुल्ने समाचारले प्राथमिकता पाएको थियो । तर, पछि त्यो रेस्टुराँ वास्तविक केएफसीको नक्कल भएको प्रमाणित भएको थियो । त्यस्तै, म्याकडोनाल्ड्सको नक्कल म्यासडोनाल्ड्स पनि इरानमा थियो । परमाणु सम्झौताले इरानमा अन्तर्राष्ट्रिय रेस्टुराँ तथा अन्य कम्पनी भित्रिने मात्र होइन, इरानका विभिन्न उत्पादनले पनि विश्व बजार पाउने विश्लेषण छ । इरानको पिस्ता, खजुरलगायतका उत्पादन विश्व बजारमा रुचाइने अर्थ विश्लेषकहरू बताउँछन् ।

स्रोत : नया पत्रिका

Related posts