काठमाडौं, २०७२ श्रावन ३,
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले प्लुटो (यम) ग्रहको एउटा पर्वतको नाममा सगरमाथामा सबैभन्दा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा राखेको छ । नासाले पठाएको न्यु होराइजन्स नामको यानले सौर्यमण्डलको सबैभन्दा बाहिर रहेको प्लुटो ग्रहका तस्बिरहरू पठाएको केही दिनमै नासाले त्यहाँको एक पर्वतलाई ‘नोर्गे मोन्टेस’ नामकरण गरेको हो । नोर्गेको नाममा उक्त ग्रहमा रहेको पर्वतको नाम राखेको जानकारी दिँदै न्यु होराइजन्सका को–इन्भेस्टिगेटर जेफ मुरेले भनेका छन्, ‘सौर्यमण्डलका कुनै पनि ठाउँको नाम नेपालीको नाममा रहेको यो पहिलो हो ।’ नेपालस्थित अमेरिकी राजदूतावासले पनि आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत यस्तो जानकारी दिएको छ ।
न्यु होराइजन्सले गत साता यम ग्रहमा खिचेका हिउँ भएका पर्वतका फोटा नासाले सार्वजनिक गरेको थियो । तेन्जिङले न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीसँग सन् १९५३ मे २९ मा सगरमाथा शिखर चुमेका थिए । त्यसैगरी, प्लुटोको एक इलाकाको नाम अन्तरिक्षमा पठाइएको पहिलो यान स्पुतनिकको नामबाट राखिएको छ । अन्तरिक्षमा तत्कालीन रुसी गणराज्यले पहिलो यान पठाएको थियो । अमेरिकी अन्तरिक्ष यात्री न्यु होराइजन्सले हालै मात्र यम ग्रहका तस्बिरहरू पठाएको थियो । ती तस्बिरमा बरफको पत्र देखिएको थियो ।
त्यसैगरी केही तस्बिरमा कैयौँ ठाउँमा चिरिएको पनि देखिएको छ । त्यसैगरी २० देखि ३० किलोमिटर लामो हिस्साका किनारमा सानो घाँटी पनि देखिएको छ, जुन कालो रङका वस्तुले भरिएको छ । नासासम्बद्ध वैज्ञानिकहरूले हाल प्राप्त भएका जानकारी न्यु होराइजन्सले अहिलेसम्म जम्मा गरेको जानकारीको केवल दुईदेखि तीन प्रतिशत हिस्सा नासासम्म पठाउन सकेको बताएका छन् । पृथ्वीको सतहबाट यम ग्रहको दूरी ४.७ अर्ब किलोमिटर छ । उक्त यानमा लगाइएको ट्रान्समिटर केवल १२ वाट क्षमताको रहेको छ र त्यसले एक सेकेन्डमा १ किलोबाइट मात्र डाटा पठाउन सक्छ । आगामी सेप्टेम्बरदेखि यानले जम्मा भएको करिब ५ जिबी जानकारी पठाउने नासाले जनाएको छ ।
स्रोत : नया पत्रिका