ताजा खबर

हिरोइन बन्न केके गरिन् प्रियंकाले ? 

एजेन्सी, २०७२  श्रावन ३,

बलिउडकी चर्चित हिरोइन प्रियंका ३३ वर्षकी भइन् । सन् १९८२ जुलाई १८ मा जमदेशपुर, बिहार (अहिले झारखण्ड)मा जन्मिएकी प्रियंकाका बाबु दिवंगत अशोक चोपडा र आमा मधु भारतीय सेनामा फिजिसियन थिए । आमाबुबाको जागिरका कारण प्रियंकाको बाल्यकाल बिहार, दिल्ली, पुणे, लखनउ, बरेली, चैढीगढ, अम्बाला र लदाकमा बित्यो । १३ वर्षको उमेरमा प्रियंका पढ्नका लागि अमेरिका गइन् । तीन वर्षपछि अमेरिकाबाट फर्किएपछि उनी बरेलीको आर्मी स्कुलमा एड्मिट भइन्  । त्यहीँबाट स्कुल लेभलको परीक्षा पास गरिन् । सन् २००० मा मिस इन्डियामा भाग लिइन् । उनले मिस इन्डियाको उपाधि जितिन् ।

त्यसपछि उनलाई भारतबाट मिस वल्र्डमा पठाइयो । प्रियंकाले त्यहाँ पनि बाजी मारिन् । अर्थात्, उनले मिस वल्र्डको उपाधि जितिन् । मिस वल्र्ड बनेपछि एकाएक चर्चामा आएकी उनले फिल्म अभिनयमा रुचि देखाइन् । जसकारण उनले सन् २००२ मा द हिरो : लभ स्टोरी अफ अ स्पाई फिल्मबाट बलिउडमा डेब्यु गरिन् । सनी देओल र प्रिती जिन्टा प्रमुख भूमिकामा रहेको यो फिल्मभन्दा पहिला उनलाई अब्बास मस्तानको हमराज फिल्मबाट अफर आएको थियो । तर, कुनै कारणवश सो फिल्ममा उनी अटिनन् । पछि, प्रियंकालाई भनिएको भूमिका अमिषा पटेलले निर्वाह गरिन् । खास स्क्रिन डेब्युको कुरा गर्ने हो भने प्रियंकाको पहिलो फिल्म तामिल भाषाको तामिजान हो । हिन्दीमा द हिरोपछि उनले अन्दाज, मुझसे सादी करोगी, वक्त, डन, फेसन, कमिने, डन–२, अग्निपथ, बर्फी, क्रिस–३, गुन्डे, मेरी कोम, दिल धडकने दो लगायत हिट फिल्म दिएकी छिन् ।

प्रियंकाका बाजिराव मस्तानी र गंगाजल–२ यस वर्ष रिलिज हुँदै छन् । उनले सन् २००८ मा मधुर भन्डारकरको फेसन फिल्मबाट बेस्ट एक्ट्रेसको नेसनल अवार्ड जितेकी थिइन् । प्रियंका बच्चामा काली थिइन् । त्यसैले उनलाई साथी तथा आफन्तले काली कलौटी भनेर जिस्क्याउने गर्दथे । बाबुआमाको साथ र पूर्ण समर्थनले नै आफू कलाकार बन्न पाएको प्रियंका बताउँछिन् ।

स्रोत : नया पत्रिका

Related posts