ताजा खबर

सक्षम ऋणीद्वारा कर्जा तिर्न अटेर  

काठमाडौं, २०७२ श्रावन ३,

साउन कर्जा तिर्न सक्षम केही ऋणीले पनि भूकम्पको बहाना बनाएर बैंकको ऋण तिरेका छैनन् । भूकम्पका कारण जनधनको क्षति भएर कर्जा तिर्न सक्ने क्षमता गुमाएका ऋणीलाई राष्ट्र बैंकले कर्जा भुक्तानीका लागि थप ३ महिनाको समयावधि दिएको थियो । सोही व्यवस्था देखाएर उनीहरूले असार मसान्तमा भुक्तान गर्नुपर्ने सावाँब्याज भुक्तान नगरेका हुन् । सक्षम ऋणीले पनि भूकम्पप्रभावितको बहानामा कर्जा नतिरेपछि बैंकहरूको वार्षिक वासलात प्रभावित भएको बैंकरहरूले जनाएका छन् ।

‘उठाउन सक्ने कर्जा पनि नआएकाले बैंकको खराब कर्जाबापतको व्यवस्था बढेको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । यसबाट बैंकको कति कर्जा प्रभावित भएको छ भन्ने यकिन तथ्यांक नभए पनि सबै बैंक प्रभावित भएको उनले बताए । ‘यस्तो कर्जा अनुपात प्रत्येक बैंकमा औसतमा १ देखि २ प्रतिशतसम्म रहेको देखिन्छ,’ उनले भने । राष्ट्र बैंकद्वारा दिएको सुविधा उपयोग गर्दै केही सक्षम ऋणीले पनि कर्जा भुक्तान नगरेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले स्वीकार गरे । यस्तो कर्जा थोरै रहेकाले बैंकहरूमा खासै प्रभाव नपर्ने उनले दाबी गरे ।

ग्राहकले राष्ट्र बैंकद्वारा प्रदान गरिएको सुविधा उपभोग गर्न खोज्नु स्वाभाविक भएको पनि उनले बताए । ‘करिब १० प्रतिशत ऋणीमा यस्तो प्रवृत्ति देखिएको छ,’ उनले भने । भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएको अवस्थामा पनि ९० प्रतिशतभन्दा धेरै ऋणीबाट निर्धारित समयमा नै सावाँब्याज भुक्तानी हुनु निकै राम्रो भएको उनले बताए । ‘क्षमता भएर पनि कर्जा नतिर्ने ऋणीको संख्या न्यून छ,’ उनले भने । क्षमता हुदाँहुँदै पनि केही कर्जा भुक्तानी नभएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । तर, अनपेक्षित रूपमा आफ्नो बैंकको कर्जा उठेको उनले जानकारी दिए । ‘अपवादबाहेक, सानिमा बैंकको उठ्नुपर्ने सबै सावाँ तथा ब्याज उठेको छ,’ उनले भने, ‘यहीकारण बैंकहरूको वित्तीय विवरणमा असर पर्नेछैन । भूकम्पबाट प्रभावित जिल्लाका बाहेक अन्य जिल्लाका विकास बैंकहरूमा कर्जा नतिर्ने समस्या नआएको डेभलपमेन्ट बैंकर्स संघ अध्यक्ष कृष्णराज लामिछानेले बताए ।

उनले भने, ‘सबै बैंकले राम्रो मुनाफा आर्जन गर्नुले कम प्रभावित भएको स्पष्ट हुन्छ ।’ तर, भूकम्पबाट अतिप्रभावित जिल्लामा कार्यक्षेत्र रहेका विकास बैंक भने समस्यामा रहेको उनले बताए । भूकम्पबाट कर्जा तिर्न सक्ने क्षमतामा ह्रास आएका ऋणीलाई मात्र सावाँब्याज भुक्तानीका लागि थप म्याद दिइएकाले अन्य ऋणीलाई त्यो सुविधा दिन नहुने राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले बताए । कर्जा भुक्तानीका लागि थप समयावधि पाउने ऋणीका बारेमा राष्ट्र बैंकले परिपत्रमा स्पष्ट व्यवस्था गरेकाले बैंकले वास्तविक ऋणीलाई मात्र उक्त सुविधा दिनुपर्ने श्रेष्ठले बताए । ‘राष्ट्र बैंकले व्यक्तिगत ऋणीपिच्छे फरक–फरक व्यवहार गर्न सक्दैन,’ उनले भने, ‘बैंकले सक्षम ऋणीलाई त्यो सुविधा दिनुहुँदैन ।’ सक्षम ऋणीले पनि कर्जा नतिरेका कारणले बैंकलाई पर्ने असरबारे राष्ट्र बैंकले थप सुविधा दिन नसक्ने उनले स्पष्ट पारे । अहिले ऋणीको वर्गीकरण गर्ने उपयुक्त समय भएको पनि उनले बताए ।

यस्तो अवस्थामा पनि निर्धारित समयमा सावाँब्याज भुक्तानी गर्नेलाई राम्रा ऋणीको संज्ञा दिँदै उनले भने, ‘सोही वर्गीकरणअनुसार आउँदा दिनमा सेवा दिनुस् ।’ भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि राष्ट्र बैंकले ऋणी र बैंकहरूका लागि विभिन्न सुविधा दिएको थियो । सोही सुविधाअन्तर्गत ३ महिना सावाँ तथा ब्याज भुक्तानी म्याद थप गरिएको छ । नयाँ व्यवस्थाअनुसार असार मसान्तमा सावाँ तथा ब्याज भुक्तानी गर्नुपर्ने ऋणीले ०७२ असोजसम्ममा उक्त कर्जा भुक्तानी गर्न थप समयावधि पाएका छन् । यो सुविधा भूकम्पबाट ऋण तिर्ने क्षमतामा ह्रास भएका वास्तविक ऋणीले मात्र पाउनुपर्छ ।

स्रोत : नया पत्रिका

Related posts