ताजा खबर

नेपालमै पहिलोपटक प्रिफेब एक्स्पो सुरु 

भूकम्पप्रतिरोधी निर्माणबारे सबै जानकारी एकै ठाउँमा

काठमाडौं ,२०७२,  श्रावन ३,

भूकम्पप्रतिरोधी आवास, कार्यालय तथा अन्य संरचना एवं सामग्रीबारे सम्पूर्ण जानकारी एकै ठाउँमा दिन राजधानीमा शनिबारदेखि प्रिफेब एक्स्पो सुरु भएको छ। होटल अन्नपूर्णमा आयोजित प्रिफेब एक्स्पोको उद्योगमन्त्री महेश बस्नेतले उद्‍घाटन गरेका हुन्।

एक्स्पो उद्‌घाटन गर्दै मन्त्री बस्नेतले यो एक्स्पोले राज्यको भूकम्पप्रतिरोधी संरचना निर्माण अभियानमा मद्दत मिल्ने बताए। ‘सरकारले समेत भूकम्पप्रतिरोधी संरचना निर्माण अभियान चलाइरहेका बेला यो एक्स्पोले थप सहयोग गरेको छ’, मन्त्री बस्नेतले भने, ‘यो एक्स्पोले सर्वसाधरणलार्इ भूकम्पप्रतिरोधी भवन निर्माणमा हौसला प्रदान गर्नेछ ।’

एक्स्पोमा प्रिफेब सामग्री, कच्चा पदार्थ तथा विभिन्न मोडेलका सुरक्षित घर र कार्यालयका डिजाइन प्रस्तुत गरिएको छ। एक्स्पोमा पन्‍ध्र जति स्टल राखिएका छन्। एक्स्पोमा नेपालसहित भारत, कोरिया पाकिस्तान र चीनलगायतका विभिन्न देशका प्रिफेब विज्ञ तथा व्यवसायीको सहभागिता रहने छ।

फक्स एड्भर्टाइजिङ एन्ड मार्केटिङ प्रालिका अनुसार प्रिफेबका बारेमा आममानिसमा जनचेतना जागृत गराउनु नै एक्स्पोको मुख्य उद्देश्य हो। निःशुल्क प्रवेश दिइने यस एक्स्पोमा नेपालसहित भारत, कोरिया, पाकिस्तान, चीनलगायत मुलुकका प्रदर्शक सहभागी हुनेछन्।

गत वैशाख १२ को भूकम्मपछि सर्वसाधारणमा प्रिफेब घर तथा कार्यालयका बारेमा निकै चासो बढे पनि यससम्बन्धी जानकारीको भने अभाव छ।

 प्रिफेब प्रविधिबाट घर, स्कुल, कलेज तथा अन्य कार्यालय बनाउन चाहे पनि यसको दिगोपन, सामग्रीको उपलब्धता तथा बनाउन दक्ष जनशक्ति छन् वा छैनन् भन्नेबारेमा समेत एक्स्पोमा सर्वसाधारणलाई सूक्ष्म जानकारी दिइने भएको छ ।

फक्स एड्भर्टाइजिङ एन्ड मार्केटिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत सुजन चौधरीले भूकम्पपछि धेरैले प्रिफेब प्रविधिका घर तथा कार्यालय बनाउन चाहे पनि उनीहरूमा यसबारेमा जानकारी अभाव भएकाले स्वदेशी तथा विदेशी प्रदर्शकलाई एउटै छानोमुनि जमघट गराउन एक्स्पो आयोजना गर्न लागिएको बताए ।

‘प्रिफेब प्रविधि के हो ? सामग्री तथा कच्चापदार्थ कहाँ पाइन्छ ? घर बनाउन कति दिन लाग्छ भन्नेलगायतका जानकारी सर्वसाधारणले एक्स्पोमा सजिलै पाउन सक्नेछन्’, उनले भने । प्रिफेबलाई ब्रान्डिङ गर्नु एक्स्पोको लक्ष्य रहेको उनले जानकारी दिए। दीर्घकालमा नेपालमा प्रिफेबको बजार विस्तार गरी सामग्री उत्पादन तथा लगानी वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्य आयोजकको छ ।

एक्सपोमा प्रिफेब घर बनाउन आवश्यक विभिन्न उत्पादन तथा कच्चा पदार्थको प्रदर्शनी गरिनेछ, जसमा स्टिल, काठ, बाँंस, फफ, पीयू, यूपीभीसी, सिमेन्ट बोर्डलगायत हुनेछन् । एक्स्पोमा आगन्तुकले प्रिफेब प्रयोग, प्रभावकारिता तथा कति समयसम्म टिक्न सक्छ भन्ने जिज्ञासा मेटाउन पाउनेछन् । सर्वसाधारणको हरेक जिज्ञासालाई सन्तुष्ट पार्नेगरी जानकारी दिने तयारी आयोजकले गरेको छ ।

व्यक्तिगत घर, अपार्टमेन्ट, विद्यालय तथा अन्य कार्यालय बनाउन न्यूनतम तथा अधिकतम लागत खर्च, मर्मतसम्भारको व्यवस्था, कच्चा पदार्थ सजिलै उपलब्ध हुन्छ वा हुँदैन भन्नेबारेमा एक्स्सोमा पुग्नेलाई पर्याप्त जानकारी दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए।

प्रिफेबबाट बन्ने घर तथा कार्यालयका प्रकार, डिजाइन, कति तल्लासम्म बनाउन सकिने हो, रिसेलको सुविधालगायतका जानकारी पनि आगन्तुकले पाउनेछन् । नेपालमा यो प्रविधिबाट घर बनाउने जनशक्ति तथा तालिमप्राप्त कामदार कति छन्, खोजेका बेला कामदार कहाँ पाइन्छ भनेर सर्वसाधारणले एक्स्पोमा थाहा पाउनेछन् । दीर्घकालमा प्रिफेब घर एवं कार्यालय बनाउन नै सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्य एक्स्पोको छ।

फक्स एड्भर्टाइजिङ एन्ड मार्केटिङका अनुसार प्रिफेब्रिकेटेड प्रविधिका घर दुई दिनमै सम्पन्न गर्न सकिन्छ । भत्किएमा, बिग्रिएमा मर्मतसम्भार गर्न सकिने, भूकम्पप्रतिरोधी एवं सुरक्षित यस्ता घरहरू ३० वर्षदेखि ४० वर्षसम्म टिक्छन् ।

यो प्रविधिबाट हाल नेपालमा न्यूनतम एकदेखि अधिकतम चार तल्लासम्मका भवन बनाउन सकिन्छ। आरसीसी ढलान भएका घरमा पनि यही प्रविधिबाट अर्को तल्ला थप्न सकिने प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए। प्रिफेब घरका लागि आवश्यक अधिकांश कच्चा पदार्थ भारतबाट आयात गरिन्छ। नेपालका केही कम्पनीले पनि उपलब्ध गराइरहेका छन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *