तेहरान, २०७२ श्रवन १,
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खमेनेईले परमाणु कार्यक्रमबारे सम्झौता भए पनि इरानको अमेरिकाप्रतिको नीति परिवर्तन नहुने बताएका छन् । रमजान समापनको अवसरमा भाषण गर्दै खमेनेईले मध्यपूर्वको विषयमा अमेरिका र इरानको गम्भीर मतभेद भएको र त्यसलाई तत्कालै परिवर्तन गर्न नसक्ने बताएका छन् ।
‘मध्यपूर्वका कैयौँ देशबारे हाम्रो र अमेरिकाको नीतिमा ठूलो मतभेद छ,’ उनले भने, ‘परमाणु सम्झौताकै कारण उसप्रति हाम्रो नीति बदलिएको छैन ।’ उनले सिरिया, इराक, प्यालेस्टाइन, यमन, बहराइनलगायतका देशमा इरानले पछाडि पारिएका मानिसको सहयोग तथा समर्थन गरिरहेको, तर अमेरिकाले ती देशमा अन्याय गरिरहेको दाबी गरेका छन् । ‘त्यसैले, हामी अहिले नै अमेरिकासँग नजिक भएका होइनौँ,’ उनले भने । वर्षौँ प्रयास भएको इरान परमाणु कार्यक्रमबारे गत सातामा सहमति भएको थियो । सम्झौताअनुसार अब इरानमाथिका प्रतिबन्ध खुकुलो हुनेछ भने इरानले आफ्ना परमाणु गतिविधि सीमित गर्नेछ । यो सम्झौता अमेरिकी नेतृत्वमा भएको थियो । तर, सम्झौताकै सबैभन्दा ठूलो विरोध पनि अमेरिकामा सुनिएको छ ।
तेहरानको मोसाला मस्जिदमा शनिबार खमेनेईले भने, ‘अमेरिका अहिले पनि हामीलाई परमाणु कार्यक्रममा सीमितता गरेको भन्दै भ्रम फैलाइरहेको छ । वास्तवमा त्यस्तो होइन । हामीले धेरैअघि नै इस्लामिक कानुनअनुसार हतियारलाई हरामको संज्ञा दिएका थियौँ । हामीले परमाणु हतियार बनाइरहेका थिएनौँ । यो सम्झौता र परमाणु हतियारको कुनै लेनदेन छैन ।’ खमेनेईले थपेका छन्, ‘हामीले बारम्बार भन्दै आएका छौँ, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा हामी अमेरिकासँग वार्ता गर्नेछैनौँ । द्विपक्षीय विषयमा पनि हामी वार्ता गर्नेछैनौँ । यसअघि हामी परमाणु सम्झौतामा भने अमेरिकासँग बस्यौँ, किनकि त्यो सबै हाम्रो पक्षमा थियो । हामीलाई सकारात्मक कदममा जसले सहयोग गरे पनि त्यसलाई स्वागत भने गर्न सक्छौँ ।’ उता, इरानमै परमाणु सम्झौताको विरोध चर्किएको छ । सम्झौताका अलोचकले इरानले ठूलो मूल्य गुमाएको आरोप लगाउँदै आएका छन् । अमेरिकामा भने इरानलाई परमाणु कार्यक्रम गर्न अब झन् सहज हुने भन्दै सम्झौताको विरोध गरिएको छ ।
स्रोत : नया पत्रिका