ताजा खबर

‘अब ग्रिस झन् समस्यामा पर्नेछ’ 

एजेन्सी एथेन्स, २०७२  साउन ३,

पूर्वअर्थमन्त्री यानिस भारोफाकिसले ग्रिसले पछिल्लो समय प्रस्ताव गरेका आर्थिक सुधारका कार्यक्रम सफल नहुने दाबी गरेका छन् । विश्वकै इतिहासमा सबैभन्दा ठूलो समस्यामा ग्रिस पर्ने निश्चित भएको उनको दाबी छ । ‘अहिले ग्रिसमाथि एउटा प्रयोग गर्न खोजिएको छ,’ उनले बिबिसीलाई भनेका छन्, ‘प्रयोगशाला बनाइएको ग्रिसलाई पछिल्ला प्रस्तावले झन् धेरै समस्यामा पार्नेछन् । इतिहासले यसलाई अत्यन्तै नकारात्मक रूपमा चित्रण गर्नेछ ।’ ग्रिसलाई तेस्रोपटक बेलआउट प्याकेज दिने विषयमा युरोजोनका नेता र ग्रिक अधिकारीबीच छलफल हुनुभन्दा केही समयअघि आएको यानिसको यो अभिव्यक्तिले ग्रिसमा ठूलो अन्योल सिर्जना गरेको छ । प्रमुख युरोजोन देशको संसद्ले मन्जुरीपछि ऋणदाता, युरोजोनका देश र ग्रिक अधिकारीबीचको वार्तामा तेस्रो प्याकेजका लागि कस्ता सुधार गर्ने भन्ने विषयमा छलफल हुँदै छ । ग्रिक संसद्ले प्रधानमन्त्री एलेक्सिस त्सिप्रासका प्रस्तावलाई सहमति जनाएपछि यो छलफल हुन लागेको हो ।

जर्मन संसद्ले पनि यस विषयमा छलफल गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । फ्रान्स र फिनल्यान्डका संसद्मा पनि यो छलफल गर्ने–नगर्ने भन्ने विषयमा गरिएको प्रस्ताव बहुमतले पारित भएको थियो । तर, यानिसले यी सबै प्रयास असफल हुने र ग्रिस झन् समस्यामा पर्ने बताएका छन् । यानिसले ५ जुलाईमा भएको जनमतसंग्रहको नतिजा आएलगत्तै राजीनामा दिएका थिए । त्यतिवेला उनले भनेका थिए, ‘युरोजोनका मन्त्रीहरू ग्रिसलाई प्रयोगशाला बनाउन खोज्दै छन्, मेरो यस विषयमा सहमति छैन । त्यसैले म राजीनामा दिँदै छु ।’ यानिसले ग्रिक प्रधानमन्त्री त्सिप्रास तेस्रो बेलआउट प्याकेजमा हस्ताक्षर गर्न बाध्य भएको बताएका छन् । ‘त्यसको विकल्प नै थिएन,’ उनले भने । उता, त्सिप्रासले मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । संसद्मा उनको प्रस्तावको विपक्षमा मतदान गर्ने मन्त्रीहरूलाई उनले निकालेको सञ्चारमाध्यमले जनाएका छन् । बुधबार ग्रिक संसद्ले फेरि सुधारका कार्यक्रमलाई पारित गर्नुपर्नेछ । त्यसअगावै मन्त्रिपरिषद्मा हेरफेर भएको ग्रिक अधिकारीले जनाएका छन् । उता, ग्रिसलाई यही समयमा अर्को समस्या पनि थपिएको छ । राजधानी एथेन्सको पहाडमा भीषण आगालागी भएको छ । यो समस्यासँग जुध्न प्रधानमन्त्री एलेक्सिसले स्वयंसेवकको सहयोग माग गरेका छन् ।

स्रोत : नया पत्रिका

Related posts