ताजा खबर

बसुन्धरापार्कबाट केवलकार बनाउन नदिने कास्कीका सभासदको चेतावनी

दिननाथ बराल,
पोखरा,२०७२ ,  साउन  ३,

पर्यटकीय नगरी पोखराको लेकसाईड स्थित बसुन्धरापार्कबाट विश्वशान्ति स्तुपाःमा केवलकार बनाउने सरकारी निर्णय बिरुद्ध स्थानीय तथा कास्कीका सभासदहरु एक भएका छन ।

सरकारले बसुन्धरापार्क देखि फेवाताल, रानीवन हुदै विश्व शान्ति स्तुपाः जानको लागि केवलकार सञ्चालनको अनुमतिसहित मनकामना दर्शन प्रालिलाई लिजमा जग्गा दिएपछि पर्यटन व्यवसायी, स्थानियबासी बसुन्धरा पार्क बचाउ समिति बनाएरै आन्दोलनमा उत्रिएका छन । उनीहरुको आन्दोलनमा साथ दिने बताउदै कास्कीका सभासदले आईतबार पोखरामा आयोजित छलफल कार्यक्रममा केवलकार कुनै पनि हालतमा बसुन्धरापार्कबाट संचालन गर्न नदिने चेतावनी दिएका हुन ।

नागरीक स्तरीय बसुन्धरा पार्क बचाउ समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै कास्कीका एघार जना नै सभासदहरुले बसुन्धरापार्कमा स्टेशन बनाएर फेवाताल माथी केवलकार चलाउदा प्राकृतिक तथा सांस्कृतिक तथा पर्यावरणीय दृश्टिले धेरै असर पुराउने भएकोले आफुहरुले बसुन्धरापार्कबाट केवलकार राख्न नदिने निर्णय गरेको संसद विकास समितिका सभापति एवम् कास्कीका सभासद रविन्द्र अधिकारीले बताए । उनले भने “ सार्वजनिक जग्गा हडप्नेगरी केवलकार सञ्चालन गर्न दिन हुदैन, व्यक्तिको जग्गा भएपनि फेवालाई कुरुप र प्रदुषित बनाउनेगरी फेवाताल माथीबाट केवलकार सञ्चालन गर्न दिन सकिदैन, सार्वजनिक जग्गाबाट त झनै असम्भव छ । ” जनताले विरोध जनाएको समयमा अब केवलकारको निमार्ण प्रकृया कुनै पनि हालतमा अघि बढ्न नसक्ने बताएका अधिकारीले केवलकार राख्नाको लागि अन्य ठाँउको खोजि हुनुपर्नेमा जोड दिए ।

सभासद यज्ञवहादुर थापाले केवलकारको नाममा बसुन्धरापार्क हडप्न खोजेको आरोप लगाउँदै कुनै हालतमा त्यो पूरा हुन नदिने दाबी गरे । वातावरणीय, कानूनी, प्राकृतिक र पर्यटकीय कुनैपनि हिसाबले बसुन्धरापार्कमा केवलकारको स्टेशन राख्न उपयुक्त नभएको उनले ठोकुवा गरे । कसैको स्वार्थको लागि केवलकार बनाउने कुरा सम्भव हुदैन उनले भने “सुनियोजित तरिकाले केवलकार निमार्ण गर्ने कुरा पनि चर्चामा रहेको छ यसको बिरोधमा हामी पनिसंगै छौं । ”

अर्का सभासद शारदा पौडेलले सार्वजनिक जग्गा व्यक्तिलाई दिएर केवलकार संचालन गर्ने काम भए आन्दोलन गर्ने चेतावनी दिइन् । सभासद सिता गिरी ओलीले जनताको ईच्छा विपरित व्यक्तिगत स्वार्थ पूरा गर्न केवलकार सञ्चालनको अनुमति दिइएको भन्दै त्यस्तो निर्णय तत्कालै खारेज गर्न माग गरिन् । सभासद वृन्दा रानाले बसुन्धरापार्कबाट फेवातालमाथी हुँदै केवलकार सञ्चालन गर्दा फेवातालको अस्तित्व नै खतरामा पर्ने बताईन । सभासद जीवन परियारले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरी हुने भएको केवलकार सञ्चालनमा पोखरेली विरुद्धमा रहेकाले केवलकार सञ्चालन प्रक्रिया रद्ध गर्न माग गरे । सभासद चुडामणी जंगलीले जग्गा अधिग्रहण गरेको उद्धेश्य र मर्म विपरित केवलकार बनाउन खोजिएको भन्दै यसलाई कुनै हालतमा रोक्नु पर्ने माग गरे।

सभासद तुलवहादुर गुरुङले प्राकृतिक र कानूनी दुवै हिसाबले केवलकार सञ्चालन गर्न दिनु उचित नहुने ठोकुवा गरे । सभासद तेजकुमारी पौडेलले सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनका लागि दिने कुरा सानो नभएको भन्दै त्यो कुनैपनि हालतमा हुन नदिने र यसबारे संसदमा पनि कुरा उठाउने बताइन् । अर्को सभासद डि.वि. नेपालीले प्रकृतिलाई हस्तक्षेप गरेमा विकाशले पनि विनाशको रुप लिनसक्ने चेतावनी दिए । सभासद कुमार खड्काले बसुन्धरा पार्क मात्रै नभई समग्र फेवातालको संरक्षणका लागि पनि केवलकार त्यहाँ बनाउन उपयुक्त नभएको प्रतिकृया दिए ।

छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बसुन्धरापार्कलाई व्यबस्थित पार्ककै रुपमा विकास गर्नुपर्ने बताउँदै अन्य प्रयोजनको लागि दिन नहुने बताए । पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले पोखराको विकासका लागि हरियाली र खुल्ला क्षेत्र राख्ने उद्धेश्यले जग्गा अधिग्रहण गरेर बसुन्धरापार्क बनाइएको बताए । पर्यटन वोर्डका पूर्व सदस्य वासु त्रिपाठीले बसुन्धरा पार्क व्यक्तिलाई दिएर केवलकार सञ्चालन गर्न दिए फेवातालमा प्रदुषण भई फेवाताल संकटमा पर्ने दाबी गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै परिषद अध्यक्ष थापाले सरोकार निकायमा ज्ञापनपत्र बुझाइसकिएकोले आफुहरुको निर्णय विपरित केवलकार निर्माण थालिए आन्दोलन गर्ने चेतावनी दिएका छन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *