भक्तपुर, २०७२ श्रावन २,
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई एकतामा बाँध्ने संविधान आउने बताएका छन् ।
बालकोटस्थित निवासमा शनिबार बिहान मानवीय आस्था नेपालले गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्तापाता वितरण गर्दै उनले अब सबै मिलेर देश बनाउने अवसर आएको बताए ।
‘राजनीति जस्तो भयो देश निर्माण त्यस्तै हुन्छ’, ओलीले भने, ‘देश बनाउन राजनीतिलाई सुधार्दै लैजानुपर्छ ।’ विज्ञसँग बसेर योजनाबद्ध रुपमा विकास, पुनःनिर्माण एवम् पुनर्वासको व्यवस्था गरिने उनको भनाइ थियो ।
भूकम्पपछि एमालेले सरकार, नेपाली सेना र प्रहरीसँग मिलेर देशभर घरटहरा बनाएको उनले स्मरण गरे। उनले एमालेले देशभर ३० हजार घर टहरा निर्माण, पीडितको उद्धार तथा राहत वितरण गरेको उल्लेख गरे ।
कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी भएपछि देशले गति लिने बताउँदै मानवीय आस्था नेपालले भूकम्पपछि पीडितलाई तीन करोड बराबरका एक हजार २ सय टहरा बनाएको चर्चा गरे ।
मानवीय आस्था नेपालका संरक्षक बस्नेतले भूकम्पमा मृत्यु भएकाको सम्झनामा गाईजात्रा निकाल्नेदेखि स्मारक बनाउन संस्था जुटेको जानकारी दिए ।
काठमाडौँ स्कुल अफ लका निर्देशक डा युवराज सङ्ग्रौलाले भूकम्पमा नागरिकता, लालपुर्जालगायत कागजपत्र हराएका नागरिकलाई कानुनी परामर्श निःशुल्क परामर्श सेवा सुरु गरिएको बताए ।
त्यस अवसरमा एमाले अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले मानवीय आस्थाका लागि संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितलाई ५० हजार सहयोग हस्तान्तरण गरिन्।
स्रोत : अन्नपुर्णपोस्ट