काठमाडौँ , २०७२ श्रावन २,
एमाले का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गरेपछि मात्रै प्रदेशको सिमांकन र नामांकनको टुंगो लाग्ने बताएका छन्।एमाले राजधानी उपत्यका समन्वय कमिटीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, संविधान जारी गरेपछि मात्रै प्रदेशको सिमांकन र नामांकनको टुंगो लागाउने हो। १६ बुँदेमा यही सहमति भएको हो। यही आधारमा साउनमै संविधान आउँछ।’
उनले १६ बुँदे सहमतिका आधारमा संविधानको मस्यौदा बनेर जनतामा गइसकेकोले अहिले प्रदेशको सिमांकन र नामांकनमा लफडा झिक्नु आवश्यक नरहेको बताए। उनले अहिले नै सिमांकन र नामांकनको टुंगो लगाउनुपर्छ भनेर एकथरीले बन्न लागेको संविधानलाई भाँड्न खोजेको आरोप लगाए। उनले भने, सिमांकन र नामांकनको टुंगो लगाएर मात्र संविधान ल्याउनुपर्छ भनेर अडान राख्नु संविधान बन्न नदिने षडयन्त्र हो। सिमांकनको लफडा झिकेर एकथरी संविधान रोक्ने खेलमा लागेका छन्।’
संविधान जारी हुन नदिनका लागि अहिले त्यसमा विवाद उत्पन्न गरिएको बताउँदै विज्ञको सहभागितामा गठन हुने आयोगले सङ्घीयताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास तथा अनुभव र मुलुकको आवश्यकताका अधारमा गर्ने सिफारिसलाई अनुमोदन गर्नुपर्ने बताए।
नेत्री अष्टलक्ष्मी शाक्यले अब मुलुकमा छिट्टो संविधान जारी गर्नुको विकल्प नरहेको विचार व्यक्त गर्दै संविधान भनेको समय सापेक्ष र जनताको चाहनाअनुसार परिवर्तन हुँदै जाने बताइन्।
पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले संविधान भनेको सबै राजनीतिक शक्ति तथा पार्टीबीच सहमतिको दस्तावेज भएकले सबैका धेरै कुरा, भावना र विषय यसमा समावेश गरिएको बताउँदै यसले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गरेको बताए।
स्रोत : अन्नपुर्णपोस्ट