रियल विश्वकै मूल्यवान टोली

एजेन्सी लन्डन, १ साउन, २०७२ ,

स्पेनिस फुटबल क्लब रियल म्याड्रिड विश्वकै मूल्यवान टोली घोषित भएको छ । फोब्सले बुधबार सार्वजनिक गरेको विश्वकै ५० शीर्ष मूल्यवान टोलीमा रियल शीर्ष स्थानमा रहन सफल भएको हो । फोब्सले यसका लागि विभिन्न खेलसँग सम्बन्धित क्लबहरूको अध्ययन गरेको थियो । फोब्सको पछिल्लो रिपोर्टअनुसार फुटबलसँगै बेसबल र बास्केटबल टोली पनि शीर्ष स्थानमा रहन सफल भएका छन् । जसमा अमेरिकन टोली बाहुल्य देखिएको छ । रिपोर्टअनुसार यस वर्ष ठूलो उपाधि जित्न असफल रियलको मूल्य केही घटे पनि शीर्ष स्थानमा कसैले उछिन्न सकेन । फोब्सले १० पटकको युरोपियन च्याम्पियन रियलको मूल्य ५ प्रतिशतले घटेर ३.२६ बिलियन डलर भएको जनाएको छ । फोब्सले यस वर्ष युरोको मूल्य घटेर डलरको मूल्य बढ्नाले रियलको मूल्यमा गिरावट आएको दाबी गरेको छ । शीर्ष स्थानमा रियलपछि अमेरिकी एनएफएल क्लब डल्लास काउबोय र बेसबल टोली न्यु योर्क याङ्किज संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।

काउबोय अमेरिकी एनएफएल टोली हो भने याङ्किज मेजर लिगको टोली हो । यी दुवैको मूल्य ३.२० बिलियन डलर रहेको फोब्सले जनाएको छ । काउबोयले यो वर्ष तीन स्थान सुधार गर्‍यो भने याङ्किजले दुई स्थान सुधार गरेको हो । अर्काे स्पेनिस क्लब बार्सिलोना र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि शीर्ष पाँचभित्र अटाएका छन् । ३.१६ बिलियन डलर मूल्य भएको बार्सिलोना तेस्रो तथा ३.१० बिलियन डलर मूल्य भएको युनाइटेड चौथो स्थानमा रहेका छन् । फोब्सको यो लिस्टमा अमेरिकन राष्ट्रिय फुटबल लिगका क्लबहरूको बाक्लो उपस्थिति छ । शीर्ष ५० भित्र अमेरिकी राष्ट्रिय फुटबल लिगका २० टोली सहभागी छन् ।

यस्तै अमेरिकाको मेजर लिग बेसबलका १२ टोली तथा अमेरिकन राष्ट्रिय बास्केटबलका १० सहित अन्य ७ फुटबल क्लब पनि शीर्ष ५० भित्र अटाएका छन् । विश्वकै सर्वाधिक महँगोमध्येको खेल फर्मुल्ला वान रेसको टोली फेरारी ३२औँ स्थानमा पुगेको छ । फेरारीको मूल्य १.३५ बिलियन डलर रहेको फोब्सले जनाएको छ । फोब्सले सन् १९९८ बाट खेलकुदसँग सम्बन्धित टोलीको समग्र मूल्यांकन गर्दै आएको छ ।

स्रोत : नया पत्रिका

Related posts