ताजा खबर

पोखरामा स्कुल भत्किँदा १ विद्यार्थीको मृत्यु, १३ घाइते 

पोखरा, २०७२ श्रावन १,

पर्खाल भत्केर विद्यालय भवनले थिच्दा बिहीबार एक विद्यार्थीको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । लगातार वर्षा भइरहँदा छोरेपाटनस्थित एक्स आर्मी पब्लिक हाइयर सेकेन्डरी बोर्डिङ स्कुल भवनपछाडिको ‘रिटेनिङ वाल’ भत्किएको हो । मृतक विद्यार्थी १४ वर्षीय सञ्जय गायक हुन् ।

घाइते ८ विद्यार्थी र ५ शिक्षकको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी हरिबहादुर पालले बताए । गायकलाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै गायकको मृत्यु भएको हो ।

टिनको छाना र ब्लकले च्यापिएका विद्यार्थी, शिक्षकलाई प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्धार गरेका हुन् । उनीहरूलाई खण्डहरबाट निकाल्न दुइटा डोजर प्रयोग गरिएको थियो । दुर्घटना हँुदा विद्यालयमा कक्षा ६ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो । विद्यालयको ५ कोठे भवनपछाडिको उक्त पर्खाल छिमेकी एसओएस स्कुलले लगाएको हो ।

‘धेरै विद्यार्थी निस्किसकेकाले जोगिए,’ विद्यालयका संस्थापक शिक्षक ऋषिराम बरालले भने । उनका अनुसार परीक्षा सकिन ५ मिनेटअगाडि ५० मिटरभन्दा बढी पर्खाल गर्लम्मै लडेको हो । विद्यालय भवन कमजोर हुँदा थेगिन सकेन ।

विद्यालयका प्राचार्य मोहन पौडेल पनि घाइते भएका छन् । घाइते विद्यार्थीमा ६ कक्षाकी अक्तिकार विक, ८ कक्षाका रचना पौडेल र सुविन थापा, ९ कक्षाका कञ्चन विक र शिक्षा बराल, १० कक्षाका अनुशा सुनार, प्रतीक्षा सुवेदी र विशु घर्ती छन् । उद्धारका क्रममा नेपाली सेनाको सिद्धिबक्स गण पोखरामा कार्यरत प्युठ गोविन्द सुनार पनि घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–२२ आर्वाविजया नहरपानीका ऋषिराम परियारको घर भत्किँदा परिवारकै ३ जना घाइते भएका छन् । बिहान ४ बजे पछाडिको खेतबाट आएको पहिरोले घर भत्काएर पुर्दा परियारकी श्रीमती राममाया, ९ वर्षीया छोरी शर्मिला र ७ वर्षीय छोरा रोशन घाइते भएका हुन् । उनीहरूको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले घरको भित्ता भत्काउँदै ऋषिरामलाई हुत्याएको र अरूलाई पुरेको थियो । पुरिएका ३ जनालाई तत्कालै निकाल्न सकिएकाले बाँच्न सफल भएका हुन् ।

अविरल वर्षापछि पहिरो जाँदा पोखरा–२६ सराङ्कोटका रामजी ढकाल र मीनबहादुर ढकालको घर बस्नै नमिल्ने गरी चर्किएको प्रहरीले जनाएको छ । उनीहरूको घरभन्दा केही तल पहिरो गएको छ । वर्षापछि पोखरा र लेखनाथका विभिन्न स्थानमा पहिरो जानुका साथै जमिन भासिएको छ ।

जमिन भासियो

अर्मलामा जमिन भासिएर स्थानीय बासिन्दालाई त्रसित बनाइरहेकै बेला भारी वर्षाले उपमहानगरका विभिन्न भागमा जमिन भासिएको छ । नदीपुरस्थित गीता खडकाको घरअगाडि ठूलो भ्वाङ परेको छ । सविता राजभण्डारीको आठ आना जग्गा ५ फिट तल भासिएर खडकाको घरको बरन्डासम्म पुगेको छ । घरलाई जोखिम पारेपछि स्थानीय जुटेर पानीको निकास खोल्नुका साथै भ्वाङ पुरेका थिए । चाउथे, विन्ध्यवासिनी, शीतलादेवी, फिर्के, बाझापाटन, सिमलचौरलगायतका ठाउँमा समेत जमिन भासिएको स्थानीयले बताएका छन् । पोखरामा २४ घण्टाको अवधिमा यो वर्षकै अत्यधिक पानी परेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ । ‘यो वर्षकै अधिक पानी पर्‍यो,’ कार्यालयका फिल्ड इन्चार्ज सरोज अधिकारीले भने, ‘यो अत्यधिक वर्षा हो ।’ उनका अनुसार २४ घण्टाको अवधिमा ३०५.४ मिलिमिटर पानी परेको छ ।

डुबानमा पोखरा

विभिन्न ठाउँमा पानी जमेर तालिएपछि बस्तीहरू डुबानमा परेका छन् । छोरेपाटन दामोदर खोलाकी विष्णु पौडेलको दुईतले पक्की घर डुबानमा पर्‍यो । उनी ज्यान जोगाउन रातारात घर छाडेर हिँडिन्, छिमेकीको शरण पुगिन् । ‘भुसुक्कै निदाएको थिएँ, छिमेकीले फोनमा खबर गरेपछि राति नै घर छाडेर हिँडियो,’ उनले भनिन्, ‘घरभित्र छिचोलिनसक्नु पानीको ताल छ, अब घर फर्किन पनि नसकिएला जस्तो भएको छ, सधैं डर रहिरहने भयो ।’

उनका छिमेकी माया न्यौपाने र मोहन विकको परिवारले पनि त्रासकै कारण घर छाडेर हिँडे । बुधबार रातिदेखिको अविरल वर्षाले खोलो बस्तीतिर ठेलिँदा दर्जन घर डुबानमा परे । ‘यस क्षेत्रमा साढे तीन सयभन्दा बढी घर छन्,’ स्थानीय कृष्णप्रसाद पोखरेलले भने, ‘डुबानको खतराले ३० भन्दा बढी घरका मानिस विस्थापित भएका छन् ।’

स्थानीयलाई पैदल हिँड्न र एक ठाउँबाट अर्को ठाउँमा जानसमेत समस्या भएको छ । रामघाट क्षेत्रमा पानीको बहाव बढेर ताल बनेपछि आसपास नदीकिनाराका सुुकुम्बासी बस्तीमा जोखिम बढेको छ । यस्तै काहुखोलामा समेत पानीको बहाव बढेपछि बस्तीहरू खतरामा परेका छन् । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे फिलिङले बाँधको काम गर्दा मझेरीपाटन क्षेत्रका ५० घरमा पानी पस्नुका साथै सयौं रोपनी जग्गाको धानबाली नाश भएको छ । नगर क्षेत्रमा पानी निकासका लागि विमानस्थलले बाँध निर्माण गरिरहेको हो ।

पानी निकासका लागि प्रशासनसँग गुहार माग्दासमेत बेवास्ता गरेको भन्दै प्रभावित बासिन्दाले निर्माणाधीन बाँध फुटाएर निकास गराएका थिए । बाँध फुटाएपछि स्थानीय र विमानस्थल कर्मचारीबीच तनाव उत्पन्न हुँदा प्रहरीले हस्तक्षेप गर्नुपर्‍यो । बाँध फुटाएपछि बगेको पानीले डिल विजयपुर खोलमा खसेको छ ।

पहिरो र पानीको भेलले ४ दशमलव ५ मेगावाटको विजयपुर साना जलविद्युत् परियोजनामा क्षति पुगी विद्युत् उत्पादन अवरुद्ध भएको प्रहरीले जनाएको छ । विजयपुरको कटानले हिमालयन गल्फ कोर्समा समेत क्षति पुगेको छ ।

स्रोत : कान्तिपुर

Related posts