
एथेन्स, २०७२ श्रावन १,
ग्रिक प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले तेस्रो राहत प्याकेजका लािग आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् । उनले युरोपेली युनियन तथा ऋणदातासामु ग्रिसले राखेका प्रस्ताव पूरा गर्न आफू प्रतिबद्ध रहने बताएका छन् । ऋणदातासामु राखेको प्रस्तावबारे संसद्मा सत्तारूढ दलकै ३० भन्दा धेरै सांसदले विरोध गरेपछि एलेक्सिसले यो प्रतिबद्धता जनाएका हुन् । विरोध गर्नेमा सभामुख तथा पूर्वअर्थमन्त्रीलगायतका नेता पनि थिए जो सत्तारूढ दल सिरिजा पार्टीका प्रभावशाली नेता मानिन्छन् । ‘अहिलेका लागि यो आवश्यक थियो,’ उनले संसद्मा भने, ‘हामीले यी प्रस्ताव बाध्यताले राखेका हौँ । यसले लामो समयसम्म फाइदा नगर्नेमा म पनि सचेत छु ।’
५ जुलाईमा भएको जनमतसंग्रहले नै अस्वीकार गरेका प्रस्तावलाई सरकारले केही परिमार्जन गरेर ऋणदातासामु राखेको थियो । त्यो प्रस्तावलाई युरोपेली युनियनले स्वीकार गरेको छ । तर, तेस्रो बेलआउट प्याकेजका लागि पूर्ण सहमति बनिसकेको छैन । तर, यही प्रस्तावका कारण ग्रिक सरकारले संसद्मा बहुमत गुमाइसकेको छ । बहुमत गुमाए पनि अहिले सरकार विघटन हुने सम्भावना भने नरहेको विश्लेषण छ ।
उता, युरोजोनका अर्थमन्त्रीहरूले ग्रिसलाई तत्कालका लागि सात बिलियन युरो ऋण दिने बताएका छन् । यसले ग्रिकको अर्थतन्त्रमा ‘पुल’को काम गर्ने उनीहरूले बताएका छन् । यो ऋण शुक्रबार युरोजोनका सबै सदस्य राष्ट्रले स्वीकृत गरेपछि ग्रिक सरकारले पाउनेछ । यो ऋण पाएमा ग्रिसमा तीन सातायता बन्द रहेका बैंक खुल्न सक्नेछन् । त्यस्तै, युरोपेली सेन्ट्रल बैंकले पनि शुक्रबार नै ग्रिसलाई आपत्कालीन कोषबाट केही रकम दिन थाल्ने अनुमान छ । उता, जर्मन संसद्ले ६८ बिलियन युरोको बेलआउट प्याकेजलाई पनि शुक्रबारै मान्यता दिन सक्छ । प्रस्तावबारे अन्य विषयमा ग्रिक संसद्ले २२ जुलाईमा निर्णय गर्ने अनुमान छ ।
स्रोत : नया पत्रिका