ताजा खबर

डी मारियाको भविष्य अझै अनिश्चित 

एजेन्सी लन्डन, २०७२  साउन १,

गत वर्ष मात्रै इंग्लिस प्रिमियर लिगको रेकर्ड रकममा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका अर्जेन्टिनी विंगर डी मारियाको ओल्ड ट्राफोर्ड बसाइ अझै अनिश्चित देखिएको छ । क्लबले उनीबारे स्पष्ट धारणा बाहिर नल्याए पनि प्रशिक्षक भान गालले यो सिजन डी मारियाले ओल्ड ट्राफोर्ड छाड्न सक्ने संकेत गरेका छन् । पत्रकारहरूको जिज्ञासामा भान गालले डी मारियाबारे सोच्न बाँकी रहेको बताएका छन् । ‘फुटबलमा खेलाडी भित्र्याउने र बेच्ने एक प्रक्रिया हो, कुन खेलाडी भित्र्याउने, कुन खेलाडीलाई बेच्ने भन्ने कुरा एकै दिनमा स्पष्ट हुँदैन,’ भान गालले भने, ‘डी मारियाबारे हामी सोच्नेछौँ ।’ डी मारियालाई भान गालले नै स्पेनिस क्लब रियल म्याड्रिडबाट ५९.७ मिलियन पाउन्डमा भित्र्याएका थिए ।

इंग्लिस प्रिमियर लिगमा कुनै पनि क्लबले एक खेलाडीका लागि तिरेको सो रकम सर्वाधिक हो । डी मारियाले क्लब छाड्ने वा नछाड्ने स्पष्ट नभए पनि उनकी श्रीमतीले भने इंग्ल्यान्डमै बस्न रुचाएको बताइएको छ । पछिल्लो समय डी मारियाका लागि फ्रान्सेली क्लब पेरिस सेइन्ट जर्मेन (पिएसजी)ले अनुबन्ध गर्ने इच्छा देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रशिक्षक भान गालले उनी अहिलेसम्म युनाइटेडको सदस्य भएको बताए । हाल घर बिदामा रहेका २७ वर्षीय डी मारियाले आफू २५ जुलाईभित्र क्लबमा हाजिर हुने बताएको पनि भान गालले बताए । यसै महिना चिलीमा सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाका लागि प्रतिस्पर्धा गरेका डी मारिया त्यसयता बिदामा छन् । उनी युनाइटेडको प्रि–सिजन टुरअन्तर्गत उत्तर अमेरिकी भ्रमणका लागि टोलीमा फर्कने बताइएको छ ।

स्रोत : नया पत्रिका

Related posts