एजेन्सी इडिनबर्ग, २०७२ साउन १,
क्यानडा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा सहआयोजक स्कटल्यान्डसँग ८ विकेटको भारी अन्तरले पराजित भएपछि क्यानडा प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा विश्वकप छनोटको आशा जीवितै राख्न क्यानडालाई स्कटल्यान्डविरुद्धको खेल जित्नैपर्ने थियो । बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग भारी अन्तरले पराजित भएपछि क्यानडा प्रतियोगिताबाटै बाहिरियो । प्रतियोगितामा चार खेल खेलेको क्यानडाले कुनै पनि अंक जोड्न सकेको छैन । स्कटल्यान्डले भने प्रतियोगितामा तेस्रो जित हात पारको छ । जितसहित समूह बीमा ५ खेलबाट ६ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा उक्लिएको छ । क्यानडाविरुद्धको जितले स्कटल्यान्डको विश्वकप छनोट सम्भावनासमेत बलियो बनेको छ ।
इडिनबर्गस्थित मैदानमा टस हारी ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्डले १४.४ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पार गर्यो । स्कटल्यान्डको जितमा बलिङतर्फ जोस दभेले तीन विकेट लिए भने ब्याटिङतर्फ ओपनर किल कोइजरले नटआउट ५१ रनको अर्धशतकीय योगदान दिए । ४ ओभर बलिङ गरेका दभेले ३६ रन खर्चंदै तीन विकेट लिएका थिए । कोइजरले ४१ बलमा २ छक्का तथा ५ चौका प्रहार गरेका थिए । यस्तै जर्ज मुन्सेले पनि नटआउट ३३ रन जोड्दा अर्का ओपनर कलिम म्याक्लियोड २९ तथा तेस्रो क्रमका ब्याट्सम्यान म्याथ्यु क्रस २१ रनमा आउट भए । मुन्सेले १२ बलमा १ छक्का तथा ६ चौका प्रहार गरेका थिए । म्याक्लियोडले १५ बलमा ३ चौका तथा २ छक्का प्रहार गर्दा क्रसले २० बलमा २ चौका प्रहार गरेका थिए ।
क्यानडाका लागि भने नवनित धलिवालले नटआउट ३४ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । उनले ३७ बलमा एक छक्का प्रहार गरेका थिए । उनीपछि जुन्नद सिद्दिकी २८ रनमा नटआउट रहँदा रभिन्दु गुनसेकाराले १९, रिजवन चिमाले १४ तथा नीतीश कुमारले १४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । सिद्दिकीले १६ बलमा २ छक्का तथा १ चौका प्रहार गरेका थिए ।
गुनसेकाराले १२ बलमा २ छक्का तथा १ चौका, चिमाले १७ बलमा २ चौका तथा कुमारले ११ बलमा ३ चौका प्रहार गरेका थिए । तेस्रो क्रमका ब्याट्सम्यान हिरल पटेल ७, श्रीमान्था विजयरत्ने ७, साद बिन जफर १ तथा सत्सिमरन्जित धिन्दसा ३ रनमा आउट भए । हाम्जा तारिक शून्यमा पभेलियनतर्फ फर्किए । बलिङतर्फ स्कटल्यान्डका अलास्डेयर इभान्सले दुई विकेट लिए । क्यानडाका लागि भने दुवै विकेट धिन्दसाले लिएका थिए । नेपाललाई जित्नैपर्ने दबाब काठमाडौं/ आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले शुक्रबार महत्त्वपूर्ण खेलमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ । समूह एमा चार खेलबाट नेपालले ३ अंक मात्र जोडेको छ । पपुवा न्युगिनीले तीन खेलबाट ५ अंक जोडेको छ । हङकङसँगको हारसँगै नेपालको शीर्ष दुई स्थानमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ । प्लेअफ स्थान सुरक्षित गर्न नेपालले पपुवा न्युगिनीविरुद्धको खेल जित्नैपर्ने बाध्यता छ ।
हङकङ र नामिबियाको पनि समान ३ अंक नै रहे पनि नेपाल नेट रनरेटमा पछि परेको छ । पपुवा न्युगिनी प्रतियोगिताकै एक्लो अपराजित टोली हो । छनोट प्रतियोगिताको लगातार दुईपटकको विजेता आयरल्यान्डमाथि पपुवा न्युगिनीले सनसनी जित निकालेको थियो । फर्ममा रहेको पपुवा न्युगिनी नेपालको नजरमा कडा प्रतिद्वन्द्वी हो । नेपालले ब्याटिङ सुधार्न आवश्यक छ । अमेरिकाविरुद्ध १२२ रन जोड्नुबाहेक नेपालले प्रतियोगितामा त्योभन्दा ठूलो योगफल बनाउन सकेको छैन । बलिङमा पनि थप सुधार ल्याउन जरुरी देखिएको छ । स्पिनमा वसन्त रेग्मी तथा तीव्र गतिमा सोमपाल कामीलाई अन्य बलरले साथ दिन सकेका छैनन् ।
स्रोत : नया पत्रिका