काठमाडौ, २०७२ श्रावन १,
लगातार घाटामा गई ३२ अर्ब ८३ करोड रुपैयाँ सञ्चित नोक्सानीमा पुगेको नेपाल आयल निगमले आर्थिक वर्ष २०७१/७२ मा १८ अर्ब रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनमा भरी गिरावट आउनु र निगमले स्वचालित मूल्य प्रणाली लागू गरेका कारण नाफामा उच्च उपलब्धि हासिल भएको अधिकारीहरू बताउँछन् । एकै वर्ष यति धेरै नाफा आर्जन हुने भए पछि निगम पदाधिकारी उत्साहित भएका छन् । उनीहरूले बिहीबार विभिन्न विस्तारका भावी कार्यक्रमसमेत सार्वजनिक गरे ।
‘चालू आर्थिक वर्ष १८ अर्ब रुपैयाँ नाफा हुने प्रक्षेपण गरेका छौं,’ निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने, ‘नाफा बढ्नुको मुख्य कारण ग्यासमा भएको घाटामा कमी हुनु हो ।’
निगमको यो प्रक्षेपण ठ्याक्कैचाहिँ होइन । निगमको लेखा प्रणाली म्यानुअल छ । यसले विभिन्न डिपोहरूबाट तथ्यांक संकलन गरिरहेको छ । सबै विवरण संकलन भएपछि यो प्रक्षेपणमा ठूलो अन्तर हुन सक्ने निगम अधिकारी नै बताउँछन् । ‘अपरिष्कृत वासलात नबनेसम्म यकिन भन्न सकिन्न,’ एक अधिकारीले भने, ‘तर १२ अर्बचाहिँ नाघ्न सक्छ ।’
निगम नाफामा जानुको मुख्य श्रेय आआफ्नो नेतृत्वलाई दिने गरिएको छ । कसैले गत असोज १३ गतेदेखि लागू गरिएको स्वचालित मूल्य प्रणालीका कारण निगमको नाफा बढेको दाबी गरेका छन् । कसैले चुहावट नियन्त्रण र प्रशासनिक चुस्तताका कारण नाफा बढेको दाबी गरे । तर खासमा निगमले अमेरिका र रुसबीचको द्वन्द्वबाट फाइदा लिएको हो ।
अमेरिका र रुसको द्वन्द्वले बितेको वर्ष अन्तर्राष्टिय बजारमा कच्चा तेलको मूल्य घटाघट गर्ने निकै होडबाजी चल्यो । रुसले आफ्नो बजार विस्तार गर्न जति कम मूल्यमा इन्धन बेच्थ्यो, त्यसलाई झट्का दिन अमेरिका समर्थित अरबी मुलुकलागयत ओपेकले त्यति नै कम मूल्यमा बिक्री गर्थे । यसको प्रत्यक्ष असर नेपाल जस्ता इन्धनमा परनिर्भर भएको मुलुकमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४५ देखि ६० डलरबीच रह्यो । विगतमा अन्तर्राष्ट्रिय मूल्य कायम हुँदा नेपालमा सरदर ८५ रुपैयाँदेखि १ सय रुपैयाँसम्म भएको थियो ।
निगमले पाँच वर्षपछि नाफा आर्जन गरेको हो । २०६५/६६ मा निगमले ३ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसबेला विश्वव्यापी मन्दीका कारण तेलको कच्चमा मूल्यमा भारी गिरावट आएकाले नाफा आर्जन गरेको थियो । २०६५/६६ सम्म सञ्चित नोक्सान १३ अर्ब रुपैयाँ हुँदाहुँदै उक्त वर्ष कमाएको नाफाबाट बोनस वितरण गरेपछि निगम पदाधिकारीले मुद्दासमेत खेप्नुपरेको थियो ।
त्यसैले चालू आर्थिक वर्ष भएको नाफाबाट निगमले बोनस वितरण गर्ने छैन । उक्त रकम सञ्चित नोक्सानी पूर्ति गर्न प्रयोग गर्नेछ । प्रक्षेपणअनुसार १८ अर्ब नाफा भए निगमको कुल सञ्चित नोक्सान करिब १५ अर्ब रुपैयाँमा झर्नेछ ।
इन्धन बिक्री वितरणमा एकाधिकार प्राप्त सरकारी स्वामित्वको निगम बितेको डेढ दशकदेखि निरन्तर घाटामा छ । अव्यवस्थित कर्मचारीतन्त्र र मूल्य समायोजनमा राजनीतिक दबाब पर्ने हुँदा निगमले ठूलो घाटा बेहोर्दा पनि भाउ बढाउन सक्दैनथ्यो । यो समस्या सामाधानस्वरूप गत असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले बेलाबेलामा १/२ रुपैयाँ घटाउने बढाउने गरेको छ । तर प्रभावकारी रूपमा लागू गर्न सकेको छैन ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यअनुसार जुलाईमा पनि निगमको नाफा ६२ करोड २९ लाख हुने अनुमान गरिएको छ । खड्काका अनुसार अहिले ग्यासमा मात्रै घाटा छ । पेट्रोल, डिजेल, मटितेलको मूल्य नाफामा छ । पेट्रोलमा १० रुपैयाँ, डिजेलमा ४ रुपैयाँ, मटितेलमा २० रुपैयाँ ५२ पैसा नाफा रहेको निगमले जनाएको छ ।
ग्यासमा भने ६ महिना अघिसम्म प्रतिसिलिन्डर १ हजार ४ रुपैयाँसम्म घाटा थियो । अहिले घटेर १७ रुपैयाँ २८ पैसामा झरेको छ । भूकम्पपछि हवाई इन्धनको बिक्री/वितरण बढेकाले नाफा बढेको खड्काको भनाइ छ । ‘भूकम्पका बेला धेरै हवाईजहाज चलेका थिए,’ उनले भने, ‘यसले पनि नाफा वृद्धिमा मद्दत पुगेको हो ।’
निगमका अनुसार प्रतिलिटर हवाई इन्धन (आन्तरिकतर्फ) मा ५५ रुपैयाँ २० पैसा, अन्तर्राष्ट्रियतर्फ ७८ रुपैयाँ ५२ पैसा नाफा छ ।
निगम नाफामा गएपछि १४ अर्ब ९८ करोड ६० लाख रुपैयाँ ऋण तिरेको छ । निगमले कर्मचारी सञ्चय कोषको ८ अर्ब ६० करोड र नागरिक लगानी कोषको ६ अर्ब ३८ करोड ६० लाख रुपैयाँ तिरेको हो । अब सञ्चय कोषको ४ अर्ब र नागरिक लगानीको ३ अर्ब रुपैयाँ बाँकी छ । निगमले यसमा साढे १० प्रतिशत ब्याज तिर्दै आएको छ ।
निगमसँग १२ अर्ब ६० करोड रुपैयाँ सरकारी ऋण छ । त्यसमा ३ प्रतिशत ब्याज तिर्छ । सरकारको ऋण पुँजीकरण गर्ने तयारी भएको खड्काले जानकारी दिए । नबिल बैंकबाट ८० करोड, एभरेस्ट बैंकबाट १ अर्ब १४ करोड, बैंक अफ काठमाडौंबाट ३० करोड रुपैयाँ ऋण लिएको छ । नबिल बैंकलाई ७ प्रतिशत, एभरेस्ट बैंकलाई ७ दशमलव ५ प्रतिशत, बैंक अफ काठमान्डुलाई ६ दशमलव ५ प्रतिशतसम्म ब्याज बुझाउँछ । स्वचालित मूल्यअघि निगमको ऋण ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ
थियो । घटेर २१ अर्ब ८८ करोड १० लाख रुपैयाँ भएको छ ।
निगमको वित्तीय अवस्था
आर्थिक बर्ष रकम नाफा/नोक्सान
२०५९/६१ १ अर्ब ८२ करोड नोक्सान
२०६०/६१ ९० करोड रुपैयाँ नोक्सान
२०६१/६२ ३ अर्ब ८ करोड नोक्सान
२०६२/६३ ३ अर्ब ८६ करोड नोक्सान
२०६३/६४ १ अर्ब ९२ नोक्सान
२०६४/६५ ५ अर्ब ५७ करोड नेक्सान
२०६५/६६ ३ अर्ब ३१ करोड नाफा
२०६६/६७ ८४ करोड नोक्सान
२०६७/६८ ३ अर्ब ११ करोड नोक्सान
२०६८/६९ ९ अर्ब ५३ करोड नोक्सान
२०६९/७० २ अर्ब ५ करोड नोक्सान
२०७०/७१ ८ अर्ब ३० करोड नोक्सान
२०७१/७२ १८ अर्ब रुपैयाँ नाफा (प्रक्षेपण)
स्रोत : कान्तिपुर