काठमाडौ, २०७२ श्रावन १,
दूरसञ्चार सेवाको दस्तुरबापत थप भएको एक प्रतिशत रकम शुक्रबारदेखि लागू भएको छ । सरकारले बजेटमार्फत भूकम्पले क्षति पुर्याएका ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि दूरसञ्चार सेवामा लाग्ने दस्तुरमा १ प्रतिशत थप गर्ने र त्यसलाई सम्पदा कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । नयाँ आर्थिक वर्षसँगै नेपाल टेलिकम र एनसेल दुवैले आफ्नो सेवा दस्तुरमा थप भएको प्रतिशत जोडेका हुन् ।
सम्पदा संरक्षणका लागि ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ अभियानअन्र्तगत सम्पदा कोषको व्यवस्था गरिएको हो । थप भएको रकम पोस्टपेडको जीएसएममा मात्र लागू हुनेछ । प्रिपेडमा सेवा दस्तुरको रकम नबढाइने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । पोस्टपेड बिल रिचार्ज मात्र नभई टेलिकमको काउन्टर, बैंक काउन्टर र अनलाइनबाट बैंकमार्फत बिल तिर्न सकिन्छ । कुल जीएसएम मोबाइल प्रयोगकर्तामा करिब साढे ६ प्रतिशत पोस्टपेड ग्राहक छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वर्ष जीएसएम मोबाइल प्रयोगकर्ताको कुल संख्या करिब २ करोड २३ लाख ३८ हजार छ । हालसम्म दूरसञ्चार सेवा प्रदानका लागि ६ कम्पनीले लाइसेन्स प्राप्त गरे पनि जीएसएम सेवा सञ्चालनमा नेपाल टेलिकम र एनसेल मात्र छन् । दूरसञ्चार सेवामा बजार हिस्साको आधारमा मोबाइल सेवा ८९ प्रतिशतले प्रयोग गर्छन् ।
उक्त कोषमा दूरसञ्चार सेवा बापतको दस्तुरका साथै स्वदेश/विदेशका नेपालीले आफूले चाहेको रकम जम्मासमेत गर्न सक्छन् । बिहीबार मध्य रातिदेखि थप दस्तुरबापत सेवाग्राहीको रकम काटिएको प्रवक्ता वैद्यले बताइन् ।
टेलिकमले यसअघि १० प्रतिशत सेवा दस्तुर र १३ प्रतिशत भ्याट लिँदै आएकामा थप भएको समेत गरी अब उपभोक्ताले एक सयको बिल
उठ्दा २४ रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यही एनसेलको कम्पनीको सेवा दस्तुरका साथै २ प्रतिशत स्वामित्व कर र भ्याट रकम रहेकामा थप भएको समेत गरी २७ रुपैयाँ बिलमा कर लाग्ने एनसेलका कर्पोरेट कम्युनिकेसन प्रमुख मिलनमणि शर्माले बताए ।
थप भएको रकमलाई बिलमा मिलान गर्न दुवै कम्पनीले आफ्नो सिस्टमलाई बिहीबार नै अद्यावधिक गरिसकेका छन् । जसका कारण टेलिकमको रिचार्ज प्रणाली करिब ६ घण्टा अवरुद्धसमेत भएको थियो । दूरसञ्चार सेवामा नेपाल टेलिकम र एनसेलको बजार हिस्सा बराबार ४६/४६ प्रतिशत रहेको छ । टेलिकमले सन् १९९९ देखि मोबाइलमा जीएसएम पोस्टपेड सेवा शुरु गरेको थियो, त्यस्तै मेरो मोबाइललाई रिब्रान्डिङ गरी एनसेलले सन् २०१० देखि सेवाग्राहीलाई पोस्टपेड र प्रिपेड सेवा दिएको हो ।
स्रोत : कान्तिपुर