वासिङ्टन, २०७२ श्रावन १,
मोबाइल एपको प्रयोगमा ट्याक्सी सेवा दिने कम्पनी उबरमाथि क्यालिफोर्नियामा ७३ लाख डलर जरिवाना लगाइएको छ । सेवाबारे जोडिएका सूचना अधिकारीलाई नदिएको आरोपमा यो जरिवाना लगाइएको हो । क्यालिफोर्निया पब्लिक युटिलिटी कमिसनका एक न्यायाधीशलाई उबरले जानकारी दिएको थिएन । उबरविरुद्ध विश्वका अरू देशमा पनि अन्य आरोप लागेका छन् । उबरको सञ्चालनलाई लिएर भारतमा पनि विभिन्न मुद्दा लागेका छन् । नयाँदिल्लीमा उबरको ट्याक्सी प्रयोग गरेकी एक महिलामाथि बलात्कार भएपछि उबरमाथि प्रतिबन्ध लागेको थियो । पछि, यो प्रतिबन्ध फुकुवा भएको थियो । त्यस्तै, उबरविरुद्ध जर्मनी र इटालीमा पनि प्रतिबन्ध लागेको छ । त्यहाँ उबरले लाइसेन्स नभएका चालकलाई पनि ट्याक्सी चलाउन दिएको आरोप लागेको छ ।
स्रोत : नया पत्रिका