युनिसले चाँडै संन्यास नलिने

कराँची,  २०७२ श्रावन १,

पाकिस्तानका भेट्रान खेलाडी युनिस खानले चाँडै संन्यास नलिने संकेत गर्दै आफ्नो उद्देश्य इंग्ल्यान्ड र अस्ट्ेरलियाविरुद्धको टेस्ट सिरिजमा जित आत्मसात् गर्ने रहेको बताएका छन् । यसै महिना श्रीलंका भ्रमणका क्रममा ३७ वर्षीय युनिसले आफ्नो सयौं टेस्ट खेलेका थिए । त्यस सिरिजको निर्णायक तेस्रो टेस्टमा उनी १ सय ७१ रन बनाएर नटआउट रहेका थिए ।

त्यसै प्रदर्शन मदतले पाकिस्तानले जितका लागि ३ सय ७७ रन पछ्याएको थियो । त्यस जितपछि पाकिस्तान तीन टेस्टको सिरिज २–१ ले जित्न सफल रहेको थियो । पाकिस्तानले श्रीलंकामा टेस्ट सिरिज जितेको यो सन् २००६ यता पहिलो थियो । युनिसले यो उपलब्धिपछि पनि आफ्नो योजना खेल्ने क्रम जारी राख्ने रहेको बिहीबार बताएका छन् ।

‘संन्यासको सर्त मेरो आफ्नै हुनेछ । पाकिस्तानले अस्ट्ेरलिया र इंग्ल्यान्डमाथि खेल्ने टेस्ट सिरिजमा जित दिलाउन सक्यो भने त्यो जस्तो राम्रो बिदाइ अरू हुने छैन,’ युनिसले भने, ‘यी दुई विदेश भ्रमणमा पाकिस्तान विजयी रहने हो भने टिम महान् सावित हुनेछ । मैले अस्ट्ेरलियामा अहिलेसम्म शतक बनाएको छैन, त्यसैले संन्यास अगाडि म त्यो पनि आत्मसात् गर्न चाहन्छु ।’

पाकिस्तानले अन्तिम पटक सन् १९९६ मा इंग्ल्यान्डलाई टेस्ट सिरिजमा हराएको थियो । पाकिस्तानले टेस्ट सिरिजमा अहिलेसम्म अस्ट्ेरलियालाई भने पराजित गर्न सकेको छैन । कलात्मक ब्याटिङ र स्पिन आक्रमणविरुद्ध टिकेर खेल्न माहिर युनिस पछिल्लो १५ वर्षयता पाकिस्तानी ब्याटिङको मुख्य आधार रहेका छन् । उनलाई अहिलेको पाकिस्तानी टिमका एक मात्र अब्बल दर्जाका ब्याट्सम्यान मानिन्छ ।

स्रोत : कान्तिपुर

Related posts