एजेन्सी, वासिंटन, २०७२ असार ३१,
इरानसँगको आणविक सम्झौता विश्वका शक्तिशाली व्यक्तित्वले स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता विकास मागको एक कदम भएको बताएका छन् । राष्ट्रपति ओबामाले सम्झौतापछि इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौका भएको बताए । ‘सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउनका लागि एक मौका दिएको छ,’ ओबामाले भने, ‘हामी सबैले यसलाई अनुशरण गर्नुपर्छ ।’ राष्ट्रसंघका महासचिव बान की मुनले इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौताको प्रशंसा गरेका छन् । महासचिव मुनले भियनामा भएको इरानको आणविक सम्झौता ऐतिहासिक सहमतिका रूपमा व्याख्या गरेका छन् । ‘यो आणविक सम्झौता अहिलेसम्मकै ऐतिहासिक हो,’ महासचिव बान की मुनले भने । फ्रान्सका राष्ट्रपति फेन्कोइस होल्यान्डले इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको सम्झौता संसारको उन्नतिका लागि मार्गचित्र भएको बताए । ‘अब इरानले समृद्ध आर्थिक सामथ्र्य राख्न सक्नेछ,’ राष्ट्रपति होल्यान्डले भने, ‘अब इरानमाथि कुनै किसिमको प्रतिबन्ध रहनेछैन ।’ इरानले सिरियामा भइरहेको युद्ध अन्त्य गर्न सहयोग गर्नुपर्ने सुझाब उनले दिएका छन् ।
अस्ट्रियाको भियनामा चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिका साथै इरानले दुई हप्तादेखि विभन्न चरणमा आणविक सम्झौतामाथि छलफल गरेका थिए । मंगलबारै सबै राष्ट्रले आणविक सम्झौता गरेका थिए । सम्झौताको इरानी जनताले पनि स्वागत गरेका छन् । तर, इरानका मुख्य राजनीतिक दल भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेका छैनन् । बेलायतले इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको सम्झौतालाई ऐतिहासिक आणविक सहमति भनेको छ । बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले एक दशक लामो समन्वयात्मक छलफलपछिको सम्झौताको स्वागत गरेका छन् । ‘इरानले सहमतिका लागि विशेष पहलकदमीका साथ काम गरेको छ,’ ह्यामन्डले भने, ‘अब अन्तर्राष्ट्रिय समुदायले पनि इरानमाथि लगाइएको बन्देजहरू फुकुवा गर्नुपर्छ ।’ इजरायली प्रधानमन्त्रीले इरानसँग भएको सम्झौता जेरुसेलमका लागि बाध्यकारी हुन नसक्ने प्रतिक्रिया दिएका छन् ।
स्रोत : नया पत्रिका