ताजा खबर

आणविक सम्झौता विश्‍वका लागि उपलब्‍धि

वासिङटन, २०७२ असार ३१, 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौकाका लागि नवीनतम सुरुवात भएको बताएका छन्। ‘सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउन लागि सुनौलो मौका दिएको छ। हामी सबैले यसलाई अनुसरण गर्नु पर्छ’, अमेरिकी राष्ट्रपति ओबामाले भने।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौताको मुक्तकण्ठले प्रशंसा गरेका छन्।इरानले आणविक विषयमा महासचिव मुनले भियनामा भएको इरानको आणविक विषयमा ‘ऐतिहासिक सहमतिको स्वागत गर्दै यो संवादबाट आउनसक्ने परिणामको एक कडी भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति ओबामाले इरानसँग भएको ऐतिहासिक परमाणु सम्झौता उपलब्धिमूलक रहेको र यसबाट इरानलाई परमाणु बम उपलब्ध हुन नदिने बताएका छन्। उनले अमेरिकी सिनेटलाई उक्त सम्झौताको विरोधमा कुनै काम नगर्न चेतावनी पनि दिएका छन्। सिनेटले यो सम्झौताविरुद्ध कुनै विधेयक ल्याउन खोजे आफूले राष्ट्रपतिको अधिकार प्रयोग गर्ने स्पष्ट पारेका छन्।
ओबामाले भने, ‘यो सम्झौतालाई प्रभावित बनाउने कुनै पनि विधेयक म रोकिदिन्छु।’ ओबामाले यस सम्झौता महान् उपलब्धि भएको पनि बताए। यस सम्झौताका कारण १५ वर्षसम्म इरानले आणविक हतियार बनाउन नसक्ने पनि खुलासा गरेका छन्।
इरानले प्रवर्धन गरेको युरेनियमको ९८ प्रतिशत भण्डारमै सञ्चय गर्नुपर्ने उनको भनाइ छ। इरानसँग द्वन्द्वले नभएर दुई वर्षदेखिको निरन्तर वार्ता उपयोगी भएको ओबामाले स्वीकार गरे।
उनले आफ्नो निकट सहयोगी इजरायलको सुरक्षाप्रति आफ्नो सहयोग सदैव रहने स्पष्ट पारे। फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलँदले इरानको आणविक कार्यक्रमका सम्बन्धमा भएको सम्झौता संसारको उन्नतिका लागि मार्गचित्र भएको जानकारी दिएका छन्।
‘अब इरानले समृद्ध आर्थिक सामथ्र्य राख्न सक्ने छ किनकि ऊमाथि कुनै किसिमको बन्देज रहने छैन’, आफ्नो टेलिभिजन संवादमा फ्रान्सेली राष्ट्रपति ओलँदले भने।
इरानले ठूलो मौका पाएको बताए र अब उसले विश्वमा शान्ति कायम गर्न सहयोग गर्नुपर्ने स्पष्ट पारे। उनले भने, ‘इरानले अब आफू सिरियामा भइरहेको युद्ध अन्त्य गर्न विश्वजगत्को प्रयासमा सहयोग गर्नुपर्छ।’
अस्ट्रियाको भियनामा भएको छलफलमा विश्वका मुख्य ६ शक्तिराष्ट्र चीन, फ्रान्स, जर्मनी, रूस, बेलायत र अमेरिका साथै इरानले गत दुई सातादेखि विभन्न चरणमा छलफल गरेका थिए। अन्ततः छलफल एक सय पृष्ठ लामो सम्झौता गरी टुंगिएको हो।
सम्झौताको इरानी जनताले पनि भव्य स्वागत गरेको त्यहाँका समाचार माध्यमहरूमा जनाइएको छ। यद्यपि इरानका राजनीतिक दल भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेका छैनन्।
पश्‍चिमा शक्‍तिसँग आणविक सम्‍झौता भएपछि तेहरानमा झन्डा फहराएर खुसी प्रकट गर्दै इरानी।
त्यसैगरी बेलायतले इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको सम्झौतालाई ऐतिहासिक आणविक सहमति भनेको छ। बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले मंगलबार करिब एक दशक लामो समन्वयात्मक छलफलपछि गरिएको उक्त सम्झौताको स्वागत गरेका छन्।
उनले भने, ‘इरानले सहमतिका लागि विशेष पहलकदमीका साथ काम गरेको छ। अब अन्तर्राष्ट्रिय समुदायले पनि इरानमाथि लगाइएको बन्देजहरू फुकुवा गर्नुपर्छ।’
उता, इजरायली प्रधानमन्त्रीले भने इरानसँग भएको सम्झौता जेरुसेलमका लागि बाध्यकारी हुन नसक्ने प्रतिक्रिया दिएका छन्। उनले यो सम्झौता क्षेत्रीय एवं संसारका लागि ठूलो खतारा भएको बताएका छन्। यसबाट इरानले आणविक हतियारको विकास गर्ने उनको भनाइ छ।
इरान सम्झौता आईएसलाई नियन्त्रण गर्ने ‘आम चाहना’
बगदाद: इराकले मंगलबार इरानसँग सम्पन्न भएको आणविक सम्झौता इस्लामिक स्टेट (आइएस) जिहादी समूहलाई पराजित गर्ने उद्देश्यका साथ भएको जनाएको छ। विश्‍वका प्रमुख ६ शक्ति राष्ट्र चीन, फ्रान्स, रूस, अमेरिका, बेलायत तथा जर्मनी र इरानबीच भियनामा सम्झौता भएको थियो। उक्त सम्झौतालाई कूटनीतिक सफलता मानिएको छ।
‘दाएसले हाम्रो क्षेत्रलाई निरन्तर द्वन्द्वमा तान्न खोजेको छ’, इराकी प्रधानमन्त्री हैदर अल अवादीले सामाजिक सञ्जालमा उल्लेख गरेमा छन्। ‘इरान सम्झौताले अब हाम्रो क्षेत्रमा शान्ति र अमन चैन ल्याउने छ’, प्रधानमन्त्री अल अवादीले भने।
आइएसले इराक र सिरियाको ठूलो भूभागमा गतिविधि सञ्चालन गर्दै अहिले इजिप्ट र लिबिया लगायत देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ।
स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *