बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधामन्त्री र अर्थमन्त्रीसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति बनाएको हो ।
समितिमा उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल रहेका छन् ।
यो समितिले बिहीबार दिउँसो अर्थमन्त्रीसँग वार्ता गर्ने भएको छ । एमालेले आफ्नो सरकारका बेलामा थालेका रािष्ट्रय गौरवसहितका योजनामा अर्थमन्त्री रामशरण महतले जानाजान तोडमोड गरेको जनाउँदै यसअघि नै बजेट पारित गर्न नदिने घोषणा गरिसकेको छ ।
‘हाम्रा मागबारे सम्बोधन भएमामात्रै हामी बजेट पारित गर्न दिन्छौं’, उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘पुष्पलाल लोकमार्ग, मनमोहन वृद्धभत्ता कार्यक्रजस्ता महत्वपूर्ण कार्यक्रममा अर्थमन्त्रीले तोडमोड गरेका छन् । ती कुरा सच्याएर संसद्मा सम्बोधन गरेमात्र बजेट पारित हुनेछ ।’
एमालेले आफ्नो सरकारका पालामा सञ्चालित बहुचर्चित तथा राष्ट्रिय गौरवका योजनालाई पुरानै नाममा निरन्तरता नदिएको भन्दै अर्थमन्त्रीको आलोचना गर्दै आएको थियो ।
बजेटसम्बन्धमा आएको विवादलाई सम्बोधन गरेर अर्थमन्त्रीले संसद्मा जवाफ नदिएसम्म बजेट पारित गर्न नदिने निर्णय भएको प्रचार विभाग प्रमुख तथा पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
बिहीबार बिहानै बसेको बैठकमा एमालेले पार्टीको नियमावलीबारे आएका संशोधन प्रस्तावलाई सम्बोधन गरी सचिवालयमा पेश गर्ने जिम्मेवारी प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिएको छ ।
स्रोत : अन्नपुर्णपोस्ट