२०७२ असार ३१,
साओ पाउलो: ब्राजिलियन फुटबलमा चर्चित नाम हो, रिभाल्डो। एकताका उनलाई ब्राजिलको राष्ट्रिय टोलीको प्रभावशाली ‘प्ले मेकर’ मानिन्थ्यो। ब्राजिलबाट मात्र होइन, उनले बार्सिलोनाजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेर धेरै समर्थकको मन जितेका थिए। राष्ट्रिय टोलीबाट बिदा लिए पनि उनले व्यावसायिक फुटबल खेल्न भने अझै छाडेका छैनन्।
अहिले रिभाल्डो र उनका छोरा रिभाल्डिन्हो ब्राजिलको एउटै क्लबबाट व्यावसायिक फुटबल खेल्छन्। ब्राजिलको दोस्रो डिभिजनको लिगमा मंगलबार राति ४३ वर्षीय रिभाल्डो र २० वर्षीय रिभाल्डिन्हो दुवैले गोल गरेपछि मोगी मिरिम क्लबले प्रतिद्वन्द्वी म्याकेलाई ३-१ ले हरायो। रिभाल्डो उक्त क्लबका खेलाडीसँगै अध्यक्ष पनि हुन्।
रिभाल्डोले निकै अघि व्यावसायिक खेल जीवनबाट संन्यास लिएका थिए। तर आफ्नो क्लबले निरन्तर निराशाजनक प्रदर्शन गरेपछि उनी क्लबलाई सफलता दिलाउन संन्यास रद्द गरेर गत महिनामात्र पुनः मैदानमा फर्किएका हुन्।
उनको क्लब मोगी मिरिम २० टोली सहभागी लिग तालिकाको सबैभन्दा तल थियो। तर, मंगलबार राति भएको खेलमा रिभाल्डो बाबुछोराले गोल गर्दै टोलीलाई जित दिलाएपछि उनको क्लब तालिकामा केही माथि उक्लिएको छ।
खेलका क्रममा रिभाल्डोले एक र उनका छोराले दुई गोल गरेका थिए। तर, खेलमा भएका तीनवटै गोलमा रिभाल्डो जोडिन पुगे । पेनाल्टीमार्फत गोल गरेका रिभाल्डोले छोरा रिभाल्डिन्होलाई पनि दुवै गोलका लागि पास उपलब्ध गराएका थिए।
पराजित टोलीका लागि भने एकमात्र गोल पिपिकोले गरेका थिए। संन्यासको निर्णय त्यागेर रिभाल्डो मैदानमा फर्किएपछि उनको क्लबले खेलेका दुईवटै खेलमा पराजय भोग्नु परेको छैन।
‘क्लब अप्ठ्यारो स्थितिमा रहेका बेला बाबुछोराले नै गोल गर्दै सफलता दिलाउन सक्दा निकै खुसी लागेको छ’, खेलपछि रिभाल्डोले भने । उनले आगामी खेलमा क्लबको स्तरमा थप सुधार आउने विश्वास पनि व्यक्त गरे।
स्रोत : अन्नपुर्णपोस्ट