दिननाथ बराल
पोखरा , २०७२ असार ३०,
पोखराको सिटी डेभलपमेन्ट बैंक र पोखरामै प्रधान कार्यालय रहेको ओम फाइनान्स मर्जर हुने भएका छन । आ–आफ्नो क्षेत्रमा सफल रहेका दुई वित्तिय संस्था क्षेत्रीय स्तरको विकास बैंक “ख” वर्गको सिटी डेभलपमेन्ट बैंक र राष्ट्रिय स्तरको फाइनान्स कम्पनी “ग” वर्गको ओम फाइनान्स कम्पनी लि. मर्ज भई एक सवल र सक्षम राष्ट्रिय स्तरको विकास बैंक बन्ने उद्देश्यका साथ मंगलबार समझदारी पत्र मा हस्ताक्षर समेत भएको छ ।
देशको वर्तमान परिस्थितिमा वित्तीय क्षेत्रमा देखा परेको कडा प्रतिष्पर्धा सिमित लगानीका अवसरहरु, देशको वर्तमान राजनैतिक अवस्था र यसले अर्थतन्त्रमा पारेको दुरगामी प्रभावका कारण वित्तीय संस्थाहरुको भविश्य विगतको जस्तै प्रतिफलमूलक नहुने विश्लेषण गरी मर्जर नितिको बाटो अपनाएको सिटि बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायको स्वीकृती पश्चात भविश्यमा यी दुई संस्था गाभिई ओम डेभलपमेन्ट बैंकको नामबाट वित्तीय कारोवार गर्ने भएको अधिकारीले बताए । मर्जर पछि बैंकको अध्यक्षमा शुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा विश्व मोहन अधिकारी र डेपुटी प्रमुख कार्यकारी अधिकृतमा वुद्धि मल्ल रहने गरी सहमती भएको उनले जनाए ।