ताजा खबर

ग्रिसले तेस्रो राहत प्याकेज पाउने 

एजेन्सी, २०७२ असार २९ ,

लन्डन, २९ असार युरोजोनले ग्रिसको आर्थिक संकट सुधार्न तेस्रोपटक राहत प्याकेज दिने भएको छ । युरोजोनका सदस्यबीच सोमबार बेल्जियमको ब्रसेल्समा बसेको बैठकले ग्रिसलाई तेस्रोपटक ऋण सहयोग दिन सहमति भएको बिबिसीले जनाएको छ । ग्रिसले तेस्रोपटक युरोजोनसँग ५३.५ बिलियन युरो माग गरेको थियो । युरोपियन कमिसनका प्रमुख डोनाल्ड टस्कले सैद्धान्तिक रूपमा ग्रिस र युरोजोनका सदस्यबीच सम्झौता भइसकेको जानकारी दिएका छन् । यस सम्झौतापछि ग्रिसले अब युरोपियन केन्द्रीय बैंकबाट आर्थिक सहयोग पाउनेछ । तेस्रो आर्थिक प्याकेज पाएपछि ग्रिस युरोजोनमै रहने युरोपियन आयोगका अध्यक्ष क्लान्स युकेरले जानकारी दिएका छन् । आइतबारदेखि चलेको बैठकमा धेरैजसो युरोजोनका सदस्यले ग्रिसलाई आर्थिक प्याकेज प्रदान गर्नुपर्ने बताएका थिए । ग्रिसलाई आर्थिक प्याकेज नदिँदा युरोजोनमै संकट आउन सक्ने बैठकको निष्कर्ष थियो । सम्झौताअनुसार ग्रिसले अब सबै नियम पालना गर्नुपर्छ । अघिल्लोपटक ऋण लिँदा ग्रिसलाई नियम पालना गर्नुपर्ने भनिएको थियो । तर, ग्रिसले कुनै पनि नियम पालना गरेन । युरोजोनले ग्रिसलाई सरकारी सुविधा कटौती गर्न निर्देशन दिएको छ ।

युरोजोनले ग्रिसलाई तीन चरणमा ऋण पाउने युकेरले जनाए । बैंकिङ पक्ष सुधार्नका लागि ग्रिसका सम्पूर्ण बैंकले २५ करोड युरो पाउनेछन् । यसका लागि केन्द्रीय बैंकले एक कोष नै खडा गरेको छ । त्यसपछि आठ हजार करोड युरो र पाँच हजार करोड युरो प्रदान गरिने युकेरले जानकारी दिएका छन् । यी सबै नियम पालना गर्दा बुधबारसम्म ग्रिसले आर्थिक ऋण पाउनेछ । यता ग्रिसका प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले यसपटक आफू नियम पालना गर्न प्रतिबद्ध रहेको जानकारी दिएका छन् । ‘मेरा लागि यो ठूलो चुनौती हो,’ प्रधानमन्त्री त्सिप्रासले भने, ‘हामी आर्थिक कटौती गर्न तयार छौँ ।’ जनता र युरोजोनको सहयोग पाएपछि ग्रिस आर्थिक संकट मोचन गर्न तयार रहेको प्रधानमन्त्री त्सिप्रासले जनाए । ‘हामी सबै आशा गर्छौँ, ग्रिसको आर्थिक संकट छिट्टै समाधान हुन्छ,’ उनले भने । ग्रिसले तीन वर्षभित्र युरोजोनबाट ६ अर्ब १० लाख पाउन्ड ऋण पाएको थियो । बैठकमा युरोजोनका नेताले ग्रिसको राजनीतिक उथलपुथल र राजनीतिक गतिविधिका कारण विश्वास गुमेको छलफल भएको थियो ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *