काठमाडौं, २०७२ असार २९,
टीट्वेन्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको सोमबार भएको महत्पूर्ण खेलमा नेपाली टोली आयोजक आयरल्यान्डसँग आठ विकेटले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १४.३ ओभरमै अलआउट हुनुअघि ५३ रनमात्र बनाउन सक्यो।
जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले आठ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । टीट्वेन्टी क्रिकेटमा नेपालले पहिलो पटक आयरल्यान्डको सामना गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर सागर पुनले केही गतिलो सुरुवात दिन खोजे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। सागरले २० रन बनाए।
१८ बलको सामना गरेका सागरले तीन चौका हिर्काए। सागरबाहेक कप्तान पारस खड्काले मात्र दोहोरो संख्यामा रन बनाउन सके। पारस १० रन बनाउँदै पेभेलियन फर्किए । उनले १६ बलको सामना गरी एक चौका प्रहार गरे।
ओपनर अनिल मण्डल दुई रन बनाउँदै आउट भए भने उनको स्थान लिन आएका प्रदीप ऐरीले खातासम्म खोल्न सकेनन्। उपकप्तान ज्ञानेन्द्र मल्ल पनि दुई रन बनाउँदै पेभेलियन फर्किए।
नाम चलेका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै मैदानबाट बाहिरिएपछि नेपालले टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै पाँच विकेट गुमाइसकेको थियो। शरद भेषावकर ६ रनमै क्रिज छाड्न बाध्य भए भने राजेश पुलामीमगर पनि ६ रनभन्दा अघि बढ्न सकेनन्।
विनोद भण्डारी पहिलो बलमै आउट भए भने वसन्त रेग्मीले दुई रन थपे । शक्तिप्रसाद गौचन शून्य रनमा आउट भए भने सोमपाल कामी पनि शून्य रनमै अविजित रहे।
आयरल्यान्डका बलर स्टुअर्ट थम्पसन र केभिन ओब्राइनले तीनतीन विकेट लिए। जोन मोनीले पनि दुई विकेट हात पारे। यसैगरी एलेक्स सुसक र क्रेग योङले पनि एकएक विकेट लिए।
आयरल्यान्डको जितमा ओपनर पल स्टर्लिङले २९ रनको योगदान गरे। उनले २१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए।कप्तान विलियम पोर्टरफिल्डले पनि अविजित १८ रन बनाए। उनले २० बलको सामना गरी तीन चौका प्रहार गरे।
ओपनर नील ओब्राइन भने तीन रनमै पेभेलियन फर्किए। उनलाई सोमपाल कामीले बोल्ड गरे । स्टर्लिङलाई पनि सोमपालले नै बोल्ड गरेका थिए।
टोलीले विजयलक्ष्य पूरा गर्दा केभिन ओब्राइन अविजित एक रन बनाउँदै क्रिजमा थिए। सोमपालले तीन ओभर बलिङ गर्दै २८ रन खर्चिए।नेपालको पाली सकिएपछि वर्षाका कारण केही समय खेल अवरुद्ध भएको थियो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो।
नेपालले पहिलो खेलमा अमेरिकालाई हराएको थियो । नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि नामिबियासँग अंक बाँड्नु परेको थियो। आयरल्यान्ड भने अपराजित छ।
समूह ‘ए’ मा तीन खेल सकेको आयरल्यान्ड ६ अंकसहित पहिलो स्थानमा छ। दुई खेल खेलेको पपुवा न्युगिनी तीन अंकसहित दोस्रो स्थानमा छ।
तीन खेल खेलेको नामिबिया तीन अंकसहित तेस्रो स्थानमा छ। यसैगरी तीन खेलबाटै तीन अंक बटुलेको नेपाल तालिकाको चौथो स्थानमा आसिन छ।
दुई खेल खेलेको जर्सी दुई अंकसहित पाँचौं, दुई खेल खेलेको हङकङ एक अंकसहित छैटौं र तीन खेल खेलेको अमेरिका सातौं स्थानमा छन्। अमेरिकाले भने हालसम्म खाता खोल्न सकेको छैन।
प्रतियोगिताअन्तर्गत सोमबार नै भएको अर्को खेलमा नामिबियाले अमेरिकालाई सात विकेटले पराजित गर्यो। हङकङ र पपुवा न्युगिनी तथा अफगानिस्तान र केन्याबीचको खेल भने वर्षाका कारण एक बल पनि नखेली रद्द भए।
स्रोत : कान्तिपुर